पशुचौपाया चराउन व्यस्त दुर्गमका विद्यार्थी : न त अनलाइन सुविधा, नत रेडियो कक्षा

नजिक न्युज संवाददाता    

पशुचौपाया चराउन व्यस्त दुर्गमका विद्यार्थी : न त अनलाइन सुविधा, नत रेडियो कक्षा

बाजुरा : विद्यालय बन्द भएदेखि बाजुराका दुरदराजका अधिकांश बालबालिका गाईभैसी चराउनमा व्यस्त देखिएका छन् । विद्यालय बन्द भएको र अन्य प्रविधीबाट कुनै शिक्षण सिकाइ नभएपछि अधिकांश बालबालिकाको दैनिक पशुचौपाया चराउने घरायासी काम गर्नेमा बित्न थालेको छ ।

अधिकांश गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका विषयमा बुझ्नु बाहेक अर्को कुनै विकल्प नै नभएको विद्यार्थीको गुनासो छ । एफएम रेडियो सुनिएपनि अन्य कुनै प्रविधिको पहूँच नहुँदा विद्यार्थी घरायासी काममा व्यस्त देखिएका हुन् । 

शहरबजारमा टिभी र अनलाइनमार्फत कक्षा सञ्चालन भए पनि गाउँमा त्यो शिक्षाको प्रभाव कुनै पनि नपरेको गुनासो बढ्न थालेको छ । सदरमुकाममा विद्युत्तको लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरुले प्रविधिको भरपूर मात्रामा सदुपयोग गरे पनि दूरदराजमा बस्ने विद्यार्थीहरु भने पशुचौपायाको भरपर्दो आहार खुवाउने साथी भएको विद्यार्थीहरुले बताउने गरेका छन् । 

अघिल्लो वर्ष रेडियो कक्षा सञ्चालन गरेर केही स्मरण गर्न पाएपनि यो वर्ष त्यो सुविधा पनि नपाएको गुनासो विद्यार्थीको छ । अभिभावक समेत घर भित्रै बालबालिकालाई थुनेर राख्नु पर्ने अवस्था नहुँदा घरको काममा खटाउने गरेको स्वीकार गर्ने गरेका छन् ।

स्थानीय तह, जिल्ला शिक्षा विकास इकाइले कुनै वैकल्पीक शिक्षाका लागि पहल गरेका छैनन् । शहरमा बस्नेहरुले टिभी अनलाइन मार्फत केही सिकाइ ग्रहण गर्न पाएपनि गाउँमा बस्नेहरुका लागि भने प्रविधि भनेको रेडियो बाहेक अर्को छैन् ।

सबैको पहुँचमा रेडियो नभएपनि बहुसंख्यकको हकममा रेडियो कक्षा जरुरी भएको नेपाल राष्टिय शिक्षक संगठन बाजुराका उपाध्यक्ष धनबहादुर रावलले बताएका छन् । अघिल्लो वर्ष बडिमालिका नगरपालिका, केही गैर सरकारी संस्था र मालिका माविले रेडियो कक्षा सञ्चालन गरेको थियो । तर यो वर्ष कसैले पनि सुरुसार गरेका छैनन् । विद्यालय बन्द भएकै महिला दिन बितिसकेको छ । 

सदरमुकाममा प्रहरी प्रशासनको कडा निगरानी हुँदा घरबाहिर निस्कन गाह्रो हुँदा विद्यार्थी घरमै बसेर पढिरहेका छन् । दूरदराजका गाउँमा प्रहरीको सहज पहुँच नहुँदा निषेधाज्ञाको पालना नहुने तर विद्यालय बन्द हुँदा घरायसी काममा विद्यार्थी लाग्ने गरेका छन् । 

एकातिर कोरोनाबाट जोगिनु अर्कोतिर पढाइलाई पूरा गर्नु विद्यार्थीका लागि चुनौतीको विषय बन्दै गएको छ । शहरबजार र गाउँका विद्यार्थीको पढाइसमेत फरक हुने गरेको छ । शहरका विद्यार्थीले विभिन्न माध्यमबाट दोहोरो शिक्षा लिइसक्ने समयसम्म गाउँका विद्यार्थीले एकसरो पढ्न पाउने अवस्थासमेत मुस्किल बन्दै गएको छ । 

अघिल्लो वर्षको कोरोनाका कारण बल्लबल्ल विद्यालय सञ्चालन भएर आधा पढाइ हुनेबित्तिकै फेरि यो वर्षसमेत सोही घटना दोहोरिँदा विद्यार्थी मर्कामा परेको छन् । बार्षिक परीक्षा समेत दिन पाएका छैनन् ।  

शिक्षा ऐन, २०२८ (नवौँ संशोधन)को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावलीको नियम ८४ को (१) मा “महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ”, भनिएको छ । 

वैकल्पीक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई समेत छ । तर जिल्ला स्थित सरोकारवाला निकाय भने यसमा मौन छन् । शैक्षिक सरोकार राख्ने निकायले पनि चासो देखाएका छैनन् । 



मङ्गलबार ०४, जेठ २०७८ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.