बाजुराका गाउँ गाउँमा फैलियो कोरोना संक्रमण, हिमालीको बिच्छ्या र जगन्नाथको मनिकाँडामा पनि संक्रमित भेटिए

नजिक न्युज संवाददाता    

बाजुराका गाउँ गाउँमा फैलियो कोरोना संक्रमण,  हिमालीको बिच्छ्या र जगन्नाथको मनिकाँडामा पनि  संक्रमित भेटिए
तस्वीर महेश शाहीको फेसबुक वालाबाट ।

बाजुरा : कोरोना भाइरसको संक्रमण गाउँ स्तरमा बढी देखिएको छ । बजार क्षेत्रभन्दा बाजुराका गाउँ क्षेत्रमा कोरोना संक्रमणका विरामी बढी देखिन थालेका छन् । बाजुराका दुर्गम गाउँमा पनि कोरोनाको संक्रमण पुष्टी भएको छ ।

भौगोलिक रुपमा दुरदराजमा रहेका हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका विटक गाउँमा पनि कोरोनाका विरामी देखिएका छन् । गाउँमा सर्वसाधारणले सुरक्षा सावधानीमा सतर्कता नअपनाउँदा संक्रमण गाउँ स्तरमै फैलिएको स्वास्थ्य कर्मीको भनाई छ । 

कोरोनासँग लक्षण मिल्ने विरामी गाउँ गाउँमा देखिएपनि जाँच गरिएको छैन् । जाँच नगरिदा संख्यामा एकीन नभएपनि संक्रमण हुन सक्ने खतरा भने बढेको छ । जगन्नाथ गाउँपालिका ३ मनिकाँडामा मात्र १६ जनामा कोरोना पुष्टी भएको छ । 

एउटै सानो गाउँमा २५ जनाको एन्टीजोन जाँच गर्दा १६ जनामा कोरोना पुष्टी भएको स्थानीय समेत रहेका नेकपा माओवादी केन्द्रका नेता महेश शाहीले बताएका छन् । ज्वरोको लक्षण देखिएका विरामी भएकै कारण जाँच गर्दा कोरोना संक्रमण देखिएको हो । 

त्यही प्रकृतिका विरामी जिल्लामा प्रत्येक वडा टोलमा देखा परेका छन् । सबैलाई जाँच गर्ने र परिक्षणको दायरामा ल्याउने संभावना नै छैन् । हिमाली गाउँपालिकाले गाउँ टोलमै स्वास्थ्य कर्मी पठाएर जाँच सुरु गरेको छ । 

जाचँ सुरु गरेकै दोस्रो दिन हिमाली गाउँपालिका १ बिच्छ्यामा १२ जना कोरोना संक्रमित देखिएका छन् । गाउँपालिका  निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार १६ जना जाँच गर्दा १२ जना पोजेटिभ देखिएका छन् । 

त्यस्तै गाउँपालिकाकै ६ नम्बर वडाको पाँडिमा ७ जनामा जाँंच गर्दा ३ जनामा कोरोना देखिएको छ । गाउँपालिकामा मात्र हाल ४२ जना सक्रिय संक्रमित रहेको संयोश बुढाको भनाई छ । 

गाउँगाउँमा कोरोनासँग लक्षण मिल्ने विरामी बढ्न थालेपछि हिमाली गाउँपालिकाले कोविट जाँच किट देखि औषधी सहीत स्वास्थ्यको टोली गाउँ पठाएको छ । गाउँ स्तरमै कोरोना फैलिएपछि थप त्रास बढेको छ । जिल्लाका अन्य गाउँमा पनि विरामीको संख्या दिन प्रतिदिन बढीरहेको छ । 

सबै बस्तीमा पुगेर जाँच गर्न सक्ने अवस्थामा सरकारी संरचना छैनन् । जसका कारण पनि कोरोना फैलिने डर देखिएको छ । दुर्गम गाउँ बस्तीबाट आउने विरामीमा पनि कोरोना देखिएपनि गाउँ स्तरमा फैलिएको पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । 

गाउँमा केही हुदैन भन्ने मानसिकता भएकै कारण पनि कोरोनाको जोखिम बढी देखिएको छ । शहरबाट गाउँ फर्किएका र भारतबाट आएकाहरुबाट गाउँमा संक्रमण फैलिएको अनुमान गरिएको छ । सुरक्षा सावधानी र परामर्श पनि गाउँ स्तरमा पुर्याउन सकिएको छैन् । 

स्वास्थ्य कर्मी उपचारमै व्यस्त छन् । प्रर्याप्त जनशक्ति अभाव छ । केही बाहेक अधिकांश स्थानीय तहका स्वास्थ्य शाखाले गाउँ स्तरमा सचेतना र सुरक्षाका लागि रणनीति नै बनाउन नसकेको गुनासो सर्वसाधारणको छ । जोखिम घटाउन सुुरक्षा सावधानी र जाँचको व्यवस्था गर्न सर्वसाधारणको माग छ । 



सोमबार ०३, जेठ २०७८ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.