बाजुराबाट कोरोना संक्रमित युवालाई डडेल्धुरा रिफर

नजिक न्युज संवाददाता    

बाजुराबाट कोरोना संक्रमित युवालाई डडेल्धुरा रिफर

बाजुरा : जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचार गराएरहेका एक जना कोरोना संक्रमितलाई रिफर गरिएको छ । २९ वर्षका ती युवकलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको हो । श्वासप्रश्वासको गतिमा सुधार नआएपछि र निमोनियाले च्याप्दै गएपछि डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले बताएको छ । 

आइसीयु र भेन्टिलेटर सुविधा नहुँदा जटिल अवस्था भएकाले डडेल्धुरा रिफर गरिएका अस्पतालका कोभिड–१९ सूचना अधिकारी चुडामणी पन्तले जानकारी दिएका छन् । 

रिफर गरिएका पुरुष निमोनियाको विरामी हुन् । जिल्लामा अक्सीजन सुविधा बाहेक आइसीयु र भेन्टिलेटर सेवा सञ्चालनमा छैन् । उपकरण भएपनि जनशक्ति अभावमा आइसीयु र भेन्टीेटर सञ्चालनमा ल्याउन अस्पतालले सकेको छैन् । 

जनशक्ति अभावकै कारण आइसीयु र भेन्टीलेटरमा राख्नु पर्ने विरामीलाई रिफर गर्नु पर्ने बाध्यता रहेको कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन् । रिफर गरिएका युवालाई बडीमालिका नगरपालिकाले भाडामा लिएको सवारी मार्फत लगिएको हो ।

सवारी साधान चलाउने चालक र सवारी साधनकै अभाव देखिएकोले बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले आफै चलाएर रिफर विरामीलाई डडेल्धुरा लगेका हुन् । नगरपालिकाले भाडामा लिएको गाडी पनि वडा अध्यक्ष रावलकै हो ।



आइतबार ०२, जेठ २०७८ ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.