एकैदिन सुदूरपश्चिममा १२ जना कोरोना संक्रमितको मृत्यु

नजिक न्युज संवाददाता    

एकैदिन सुदूरपश्चिममा १२ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका २ जना र डडेल्धुराका १ जना संक्रमितको मृत्यु भएको हो। कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। 

३८ वर्षीय पुरुषको सोमबार बिहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको हो। कोरोना पुस्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

यस्तै धनगढी उपमहानरपालिका–२ का ४३ वर्षीय संक्रमित पुरुषको सेतीप्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो।

यसैगरी उपमहानगरपालिका–५ की ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनको सोमबार बिहान ९ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

कैलालीको गोदावरी नगरपालिका–१ का ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनको सोमबार बिहान ७ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

उता कञ्चनपुरका पनि थप ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१३ की ७४ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो। बैशाख १५ गते कोरोना संक्रमण पुस्टि भई होम आइसोलेसनमै बसेकी उनको राति अस्पतालमा मृत्यु भएको हो। 

यस्तै भीमदत्त नगरपालिका–३ का ९२ वर्षीय वृद्धको पनि सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। यस्तै भीमदत्त नगरपालिका–१९ का ३७ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान २ बजे उनलाई महाकाली अस्पताल पुगाइएको थियो। उनको राति करिब साढे ३ बजेतिर मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए। 

यसैगरी भिमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको थियो। त्यस्तै बझाङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाका ज्यान गएको हो। जिल्ला अस्पताल बझाङमा उपचाररत उनको आइतबार राति मृत्यु भएको डा. मिलन खड्काले बताए। 

उनी आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। जिल्ला अस्पतालमा भर्ना भएपछि उनीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण प्रसाद जोशीले बताए। 

यस्तै आइतबार राति नै तल्कोट गाँउपालिका–१ की एक संक्रमितको पनि मृत्यु भएको छ। कोरोना संक्रमण पुस्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राति १२ वजे ज्यान गएको उनका आफन्तले जनाएका छन्।

जिल्ला अस्पतालमा १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी घर जानलाई सदरकमुकाम चैनपुरबाट हिडेकी थिइन्। साँझ घर जानेत्र क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ बजे उनको मृत्यु भएको आफन्तले जनाएका छन्। कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन्। 

उता डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–६ की २५ वर्षीया युवतीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 



सोमबार २०, बैशाख २०७८ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.