स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

नजिक न्युज संवाददाता    

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

ताइपेई, ताइवान : रूसले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रूसले जनाएको छ ।

हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रूसले घोषणा गरेको छ । यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिनेछ । यी क्षेत्रका धेरै मुलुकले रूसी खोपको माग गरेका छन् ।

अमेरिकी र युरोपेली युनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रूसले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तीव्रता दिएको छ ।

विगतमा रूसको खोपका बारेमा विभिन्न आशंका गरिए पनि सुप्रसिद्ध बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित विवरणले स्पुतनिक भी खोप सुरक्षित रहेको र यसको प्रभावकारिता ९१ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।

तैपनि, विज्ञहरुले रूसले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । दशौं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि रूसले त्यसको केही अंश मात्र आपूर्ति गरिरहेको छ ।रसियाका सरकारी प्रवक्ता दिमित्री पेस्कोभले स्पुतनिक भी को मागलाई पूरा गर्न रसियासँग रहेका प्लान्ट पूरै सक्षम नरहेको बताउनुभयो ।

उत्पादन वृद्धि गर्न रसियाको डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, टर्की, इटाली र अरु मुलुक समेतका अरु मुलुकका औषधि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ । तर बेलारुस र कजाकस्तान बाहेक अन्य प्लान्टबाट पर्याप्त खोप उत्पादन हुनसकेको छैन ।

लन्डनस्थित अनुसन्धान संस्था एयरफिनिटीको अनुमानमा रसियाले १०० भन्दा बढी मुलुकलाई ६३ करोड डोज स्पुतनिक भी खोप उपलब्ध गराउन सम्झौता गरेको जनाएको छ तर हालसम्म करिब एक करोड १५ लाख डोज मात्र निर्यात भएको छ ।

फन्डले अन्य मुलुकमा कति डोज खोप निर्यात भइसक्यो भन्ने खुलाएको छैन । गत अप्रिल २७ सम्ममा स्पुतनिक भी खोप करिब २ करोड ७० लाख डोज मात्र उत्पादन भएको अनुमान गरिएको छ । यसैबीच, फन्डले हुआलान बायोलोजिकल ब्याक्टेरिनसँगको साझेदारीमा १० करोड डोज तथा शेनझेन युआक्सिन जिन टेकबाट ६ करोड डोज उत्पादन गर्ने सम्झौता गरिसकेको जनाएको छ ।

टिबेट रोडिओला फर्मास्युटिकल्सले स्पुतनिक भी खोप उत्पादन र बिक्री गर्नेगरी रसियासँग ९० लाख अमेरिकी डलरमा सम्झौता गरेको गत नोभेम्बरमै घोषणा गरिएको थियो । 



सोमबार २०, बैशाख २०७८ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.