बाजुरामा २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी

नजिक न्युज संवाददाता    

बाजुरामा २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी

 बाजुरा : जिल्लामा  निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा कोरोना संक्रमण तीव्र दरमा बढ्दै गएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन बैशाख २२ गते विहान ५ बजेदेखि ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोमबार बसेको (कोभिड १९) संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने सिफारिश गरेको हो  । संक्रमण रोक्नको लागि बैशाख २२ विहान ५ बजेबाट निषेधाज्ञा जारी गर्ने साहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन् ।              

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेका कुनै पनि सवारी साधान आवागमनमा पूर्ण रुपमा रोक लगाईने छ । भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछैन । खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजेदेखि १ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म मात्रै खोल्न पाइने साहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।

यस्तै औषधी तथा स्वास्थ्य पसलहरु २४ सै घण्टा खुला रहने छन् । अत्यावश्यक बाहेकका अन्य कुनै पनि सार्वजनिक सवारी साधन चल्न नदिने, खाद्यान्न निर्माण सामाग्री लगायतका अत्यावश्यक बस्तु ढुवानी गर्ने मालवाहक साधनहरुमा चालक र सहचालक बाहेक अन्य व्यक्तिलाई चढाउन नपाईने भएको छ । 

त्यस्तै खाद्यन्न सामाग्री विक्री गर्ने पसल बाहेक होटल रेष्टरेण्ट लगायत सबै प्रकारका पसलहरु बन्द रहनेछन् । निर्माण कार्यमा संलग्न मजदुरहरुले मास्कको प्रयोग लगायत जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गरेको हुनपर्नेछ । 

सरकारी कार्यालहरुले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरु बन्द गर्ने, बैक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारीहरु मात्र राखी निश्चित समय ताकेर सेवा प्रवाह गर्न पाइने छ । संचारकर्मीको हकमा आधिकारीक निकायबाट जारी गरेको प्रेस पास परिचयपत्रको आधारमा आवत जावत गर्न पाईने निर्णय भएको छ । 

 



सोमबार २०, बैशाख २०७८ ०५:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.