काँग्रेस बाजुरामा क्रियाशिल सदस्यता वितरणमा विवाद, फर्जी सदस्यता बाँडेको आरोप

नजिक न्युज संवाददाता    

काँग्रेस बाजुरामा क्रियाशिल सदस्यता वितरणमा विवाद, फर्जी सदस्यता बाँडेको आरोप

बाजुरा : नेपाली काँग्रेस बाजुरामा क्रियाशिल सदस्यता वितरणमा विवाद देखिएको छ । पार्टी संस्थापन पक्षका नेताहरुले अवैध बाटो प्रयोग गरेर विधी विधान विपरित क्रियाशिल सदस्यता दिन खोजिएपछि विवाद देखिएको असन्तुष्ट पक्षको आरोप छ । 

पार्टी सभापति कविराज पण्डित पक्षले आन्तरिक रुपमा तोकिएको भन्दा बढी र न्यूनतम मापदण्ड नपुगेकै व्यक्तिहरुलाई सदस्यता दिन खोजिएको आरोप पौडेल, सिटौला पक्षहरुको छ । त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाको हकमा बढी गलत देखिएको काँग्रेस कार्यकर्ताले नै आरोप लगाएका छन् ।

पार्टी नेतृत्वको आड भरोसामा फर्जि फाइल तयार पारेर आफू निकट र अधिवेशनमा सहयोग गर्ने व्यक्तिहरुलाई छानी छानी सदस्यता दिन खोज्नु निन्दनीय र पार्टी विरोधी कार्य भएको आरोप काँग्रेस सक्रिय कार्यकर्ता भरत बुढाले लगाएका छन् ।

पार्टीबाटै उम्मेदवार बनेर जितेका त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारको फाइल गायब गरिएको, त्रिवेणी नगरपालिका ३ का वडा अध्यक्ष मिनबहादुर भण्डारीको फाइल लुकाएर सदस्यताबाट रोक्न खोजिएको आरोप पौडेल सिटौला पक्षधरहरुको छ ।

१५ वर्षपहिले सदस्यता लिएको भएपनि अन्तिममा आएर नविकरण गर्नबाट रोक्ने प्रयास गरिएको काँग्रेसका युवा नेता मिनबहादुर भण्डारीले बताएका छन् । पार्टी जिल्ला सभापति वा अन्य शिर्ष नेताको निर्देशनमा भन्दा पनि केह ीगलत व्यक्तिहरुले नियतबस आफ्नो सदस्य रोक्न खोजेको स्वीकार गरेका छन् ।

जिल्ला अधिवेशन नजिक आउन थालेपछि काँग्रेस बाजुरामा आन्तरिक विवाद बढेको छ । हिजोराती १२ बजेसम्म सबै सदस्यता र नविकरण नामावली अनलाइनमा भरिसक्नु पर्ने निर्देशन केन्द्रले गरेको थियो । त्यसै निर्देशन अनुरुप रातारात फर्जि कागज बनाएर क्रियाशिल सदस्यता थपेको सूचना पाएपछि असन्तुष्ट पक्षले विरोध गरेका थिए ।

सदस्यता फारम सहीत ल्याप्टप समेत कब्जामा लिएर सच्याउन दबाब दिएको श्रोतको दाबी छ । पार्टी नेतृत्वबाट पनि केही व्यक्तिले कमजोरी गरेपनि गलत हुन नदिने आश्वासन पछि कार्यकर्ता शान्त भएको काँग्रेस नेता मिनबहादुर भण्डारीले बताएका छन् ।

नेपाली काँग्रेसको क्रियाशिल सदस्यता प्राप्तीका लागि वडा तहबाटै सिफारिस आउने पर्ने प्रावधान छ । नेताहरुले आफ्ना जिल्ला बाहिरका कार्यकर्ताको पनि सदस्यता फारम भर्ने कार्य गरिएको र योग्यता क्षमता भएका फरक समूहकालाई सदस्यतााट वञ्चित गराएको भरत बुढाले बताएका छन् । 

सामाजिक सञ्जालमा पनि काँग्रेस कार्यकर्ता बीच आरोप प्रत्यारोप चलेको छ । पार्टीकै सिफारिसमा उपप्रमुख, वडा अध्यक्षसहीत जनप्रतिनिधी बनेका व्यक्तिहरुलाई रोकेर आफ्ना कार्यकर्ता भर्ती गर्नु नै निन्दनीय कार्य भएको काँग्रेस नेतृ जुना दानीले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी छन् ।

विधी विधान विपरित सदस्यता दिन खोज्ने र गलत नियतका साथ योग्यतम व्यक्तिको पनि सदस्यता रोक्ने व्यक्तिको पहिचान गरि कारवाही नगरिए पार्टी भित्रै बिद्रोह गर्ने काँग्रेस नेता मिनबहादुर भण्डारीको आक्रोश छ ।

काँग्रेस जिल्ला नेतृत्वले भने सामान्य त्रुटी देखिएपनि ठूलै कमजोरी नभएको र भएको ठाउँमा पनि सुधार गरिसकिएको बताएको छ । सामान्य विषयलाई ठूलो विवाद जस्तो बनाउन नहुने संस्थापन तर्फका नेताहरुको भनाई छ । 

केन्द्रको निर्णय अनुसार नै सदस्यता थप्ने कार्य गरिएको र काँग्रेससँग एकता गरेको जनअधिकार फोरमका ४ सय बढी सदस्यताको हकमा मात्र विवाद भएको हुन सक्ने पार्टी सचिव रनसिंह अयडीले बताएका छन् । अयडीका अनुसार फाइल लुकाएको भन्ने कुरा गलत भएको र बरु केही व्यक्तिहरुले फाइल कब्जा गरेको बताएका छन् ।

काँग्रेसका हाल ३ हजार १५ जना क्रियाशिल सदस्य रहेका छन् । भने यो सत प्रतिशत सदस्य संख्या थपिने छन् । आगामी भदौ भित्र काँग्रेसले अनिवार्य केन्द्रीय महाधिवेशन गरिसक्नु पर्ने कानुनी बाध्यता छ । जिल्ला अधिवेशन नजिकीएसँगै काँग्रेस भित्र विचार समूहबीचको विवाद बढेको छ । 



बिहिबार १६, बैशाख २०७८ ०६:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.