बाजुराको बुढीगंगामा ५ करोड लागतमा फन पार्क बन्ने

नजिक न्युज संवाददाता    

बाजुराको बुढीगंगामा ५ करोड लागतमा फन पार्क बन्ने
गुगलबाट साभार गरिएको नमुना

बाजुरा :  बुढीगंगा नगरपालिका २ मा चैतेपीपल फन पार्क बन्ने भएको छ । संघिय सरकार र स्थानीय तहको सयुक्त लगानीमा फन पार्क बन्न लागेको हो । फन पार्क निर्माणका लागि ५ करोड बजेट प्रास्तवित गरिएको छ ।

घुम्ने स्थल देखि, खेल मैदान, पार्क, बगौचा सहीतको मनोरम फन पार्क बन्ने बनाउने गरी ५ करोड बजेट प्रस्ताव गरिएको संघिय सभा सदस्य लालबहादुर थापाले बताएका छन् । फन पार्क थापाकै पहलमा आफ्नै गृह वडामा निर्माण हुन लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकामा चैतेपिपल फन पार्क निर्माण गर्न बजेट र निर्माण समय समेत तोकिसकेको छ । मन्त्रालयले चैत २२ गतेको निर्णय अनुसार संघिय सरकारको ३ करोड २५ लाख र स्थानीय तहको १ करोड ७५ लाखको लगानीमा फन पार्क निर्माणका लागि परिपत्र पठाएको छ ।

फन पार्क २०७९ फागुन मसान्त सम्म सम्पन्न गर्ने गरि पत्रमै उल्लेख गरिएको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारि कार्यक्रम अन्र्तगत योजना स्वीकृत भएको संघिय सभा सदस्य लालबहादुर थापाका स्वकिय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् ।

बालमैत्री वातावरण, खेल अभ्यास सहितका सिकाइ केन्द्रहरु, इतिहासिक र पौराणीक कला कौशल झल्किने स्तम्भहरु, आधुनिक विकास मोडेल झल्किने दृश्यहरु देखिने गरि फन पार्क निर्माण गरिने भएको छ । चैतेपीपल नाम दिइएको फन पार्क बुढीगंगा नगरपालिका २ ताँप्राको चौपाडी आसपास क्षेत्रमा निर्माण हुने बुझीएको छ । 

फन पार्क निर्माणका लागि बाजुराका बुढीगंगा र गौमुल २ स्थानलाई तोकिएको छ । यसका लागि नेपाल सरकार मन्त्रि स्तरीय बैठकले गएको फागुन ३ गते योजना छनोट सहीत स्वीकृत गरेको थियो । फन पार्क अन्य जिल्लामा निर्माण भएपनि बाजुरामा भने पहिलो पटक निर्माण हुन लागेको हो । 



शुक्रबार १०, बैशाख २०७८ ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.