पाँच वटा स्थानीय तहकाे बहिष्कार पछि १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड स्थगीत

नजिक न्युज संवाददाता    

बाजुरा : जिल्लाका पाँच वटा स्थानीय तहले १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड बहिष्कार गरेका छन् । घरेलु मैदानमा बडिमालिका नगरपालिकाले देखाएको अव्यवहारिक र विभेदकारि क्रियाकलापको विरोध गर्दै खेलमा सहभागि नहुने लिखित जानकारी सहीत खेल बहिष्कार गरेका हुन् ।

खेलमा सहभागि ६ वटा स्थानीय तह मध्ये बडिमालिका नगरपालिका बाहेकले बहिष्कार गरेका हुन् । बहिष्कार गर्नेमा बुढीगंगा, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह, जगन्नाथ र गौमुल गाउँपालिका रहेका छन् । 

आयोजक खेलकुद विकास समितिले राखेका खेल प्रशिक्षक देखि स्थानीयको विभेदकारी व्यवाहारले खेलमा सहभागि हुने वातावरण नभएकोले त्यसको विरोधमा खेल बहिष्कार गरिएको लिखित पत्र जिल्ला खेलकुद विकास निर्देशक समितिलाई बुझाएका छन् ।

हिमाली, स्वामिकात्र्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाले भने खेलमा भाग नै लिएका थिएनन् । खेलको दोस्रो दिन एथ्लेष्टीक तर्फका खेल र कबड्डीमा प्रशिक्षकले निष्पक्ष निर्णइ नदिएको, खेलाडीलाई होटलमै पुगेर धम्की दिने गरेको आरोप पाँच वटा स्थानीय तहले लगाएका छन् । 

चार बुँदे माग पत्रमा प्रशिक्षकहरुले निष्पक्ष खेल नखोलाएको, पटक पटक खेल खोलाउदा विवादित बनाउदै खेलाडी विद्यार्थी माथि आक्रमण हुन थालेका विषय उल्लेख गरिएको छ । पत्र जिल्ला समन्वय समिति प्रमुख एवं खेल निर्देशक समिति संयोजक नरेन्द्र कुमार रोकायालाई बुझाएका हुन् ।

खेलाडीलाई आक्रमण गर्ने, गाली गलौज गर्ने, कुटपिट गर्ने र असभ्य व्यवहार देखाएर खेल प्रभावित पार्ने कार्य भएकाले आगामी वर्ष हुने राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा मार्तडीमा भएमा सहभागी नहुने पाँच वटै स्थानीय तहका खेल प्रशिक्षकले सामुहीक हस्ताक्षर सहीत पत्र बुझाएको जगन्नाथ गाउँपालिकाका खेल प्रशिक्षक पवन रोकायाले बताएका छन् ।

१२ औं राष्ट्रपति रनिङ्ग शिल्डमा संचालन हुने बाँकी खेलमा सहभागी नहुने, जिल्लाबाट प्रदेश स्तरिय खेलकुदमा सहभागीता नजनाउने, र मागहरुको सुनुवाई नभएमा प्रदेशस्तरिय खेलकुदमा सहभागी हुने खेलाडीलाई बाटो तथा खेल संचालन हुने ठाउँमा बुढीगंगा नगरपालिकाको नेतृत्वमा र अन्य स्थानीय तहको सहयोगमा खेल अवरोध गर्ने सम्मको धम्कीपूर्ण भाषा समेत उल्लेख गरिएको छ ।

विगतका राष्ट्रपति रनिङ्ग शिल्डमा गौमुल गाउँपालिकाको अम्लिस माविले जितेको राष्ट्रपति रनिङ्ग शिल्ड नम्वर घटबढ गरी मालिका माविलाई शिल्ड जिताएकाले उक्त गल्ती तथा त्रुटी सच्याई सार्वजनिक माफी माग्न समेत पाँच वटै स्थानीय तहले माग गरेका छन् ।

घरेलु मैदानको फाइदा उठाउँदै खेल जित्नु भन्दा धम्की र गालीले त्रसित पार्ने कार्य गरिएकोले बाँकी खेलमा सहभागि नहुने गरि बहिष्कार गरिएको बुढीगंगाका खेल प्रशिक्षक हंस बुढथापाले बताएका छन् । थापाले मार्तडीमा आयोजना हुने खेलमा सर्त सहीत मात्र सहभागि हुने बताएका छन् । स्थानीय पहले खेलकुद विकास समितिले राखेका प्रशिक्षक माथि नै प्रश्न उठाएका छन् । 

जानकारी पत्रमा बुढीगंगा नगरपालिकाका खेल प्रशिक्षक हंस बुढथापा, गौमुल गाउँपालिका खेल प्रशिक्षक धनबहादुर रोकाया, खप्तड छेडेदह गाउँपालिका खेल प्रशिक्षक रामबहादुर रावत, त्रिवेणी नगरपालिकाका खेल प्रशिक्षक गणेश साउँद र जगन्नाथ गाउँपालिकाका खेल प्रशिक्षक पवन रोकायाले हस्ताक्षर गरेका छन् । 

पाँच वटा स्थानीय तहले खेल बहिष्कार गरेसँगै बाँकी खेल पनि स्थगीत भएका छन् । समन्वय गरेर प्रतियोगिता अघि बढाउने गरी छलफल चलिरहेको समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताएका छन् । तर स्थानीय तह खेलाडी लिएर आफ्नो पालिका फर्किसकेकोले पुन खेल सञ्चालन गर्न समस्या देखिएको छ । 



मङ्गलबार ०७, बैशाख २०७८ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.