सुदूरपश्चिमका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

नजिक न्युज संवाददाता    

सुदूरपश्चिमका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

धनगढीः सुदूरपश्चिममा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशाला र सीमा नाकामा गरिएको परीक्षणमा ४१ जनामा संक्रमण पुस्टि भएको हो। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुस्टि भएको जनाएको छ। 

निर्देशनालयकाअनुसार सेती प्रादेशिक अस्पतालमा ६९ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो। यस्तै, महाकाली अस्पताल प्रयोशगालामा ७ जनाको परीक्षण गर्दा २ र जिल्ला अस्पताल बैतडीमा ३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो। 

त्रिनगर–गौरीफन्टा सीमा नाकामा ३ सय २७ जनाको एन्टीजोन विधीबाट गरिएको परीक्षणमा थप २३ जनामा संक्रमण पुस्टि भएको छ। सीमा नाकामा खटिएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका स्वास्थ्य सहायक गणेश साउदले भारतबाट २ हजार मानिस स्वदेश फर्किएपनि सबैको परीक्षण हुन नसकेको हो।

संक्रमण पुस्टि भएका मध्ये २२ जनालाई धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिएको छ भने एक जना सार्वजनिक सवारी मार्फत घरतर्फ हिँडेको बुझिएको छ। 

भारतमा दोस्रो लहरको कोरोना फैलिने क्रम तीव्र बनेका बेला यहाँ पनि कोरोना संक्रमितहरु देखिन थालेका हुन्। मंगलबार राति मात्र कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको थियो। 



बुधबार २५, चैत २०७७ ०६:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.