कुमारी बैंक गौमुल शाखाले २० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनायो

रमित विक    

कुमारी बैंक गौमुल शाखाले २० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनायो

बाजुरा : गौमुल गाउँपालिकामा रहेको कुमारी बैंक शाखाले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सोही अवसर पारी सरसफाईसहित सरसफाईका सामाग्री वितरण समेत गरेको छ ।

बैंकले आफ्नो २० औं वार्षिक उत्सवको अवसर पारी गौमुल गाउँपालिका–६ नम्बर वडा कार्यालयलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको हो । 

बैंकले व्यापार मात्र गर्छ भन्ने भ्रमको अन्त्य गरी सामाजिक उत्तरदायित्व समेत बहन गर्छ भन्ने कुरालाई स्थापित गर्ने गरी सरसफाई सामाग्री सहयोग गरिएको कुमारी बैंक शाखा प्रबन्धक नरेन्द्र सिंह साउँदले बताएका छन् । 

वार्षिक उत्सवको अवसरमा शनिवार विहान शाखाले गाउँपालिकाको केन्द्रमा रहेका शिव मन्दिर परिसर, घट्मना बजार क्षेत्र र गाउँपालिका काकार्यालय वरिपरी सरसफाई कार्यक्रमको आयोजना गरी गरेको छ । शाखामा कार्यरत सम्पूर्ण कर्मचारी र अन्य स्थानीयहरुको सहभागितामा सरसफाई गरिएको हो । 

त्यस्तै शाखाले पर्यावरणलाई ध्यानमा राखेर सरसफाईका सामाग्री वडा कार्यालय मार्फत सहयोग गरिएको हो । फोहोर व्यवस्थापन गरी वातावरणीय सरसफाईलाई थप प्रभावकारी बनाई सरसफाईमा थप टेवा पुग्ने गरी सरसफाई सामाग्रीहरु डस्टवीन १० पीस र बाल्टिन ४ पीस वितरण गरिएको शाखा प्रबन्धक साउँदले बताएका छन् । 

गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा र शाखा प्रबन्धक नरेन्द्र सिंह साउँदले एक कार्यक्रमकाबीच सरसफाई सामाग्री गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायालाई हस्तान्तरण गरिएको हो । 

बैंकहरु व्यापार मात्र गर्छन् तर समुदायसंग कुनै सम्बन्ध राख्दैनन् भन्ने कुरालाई त्याग्ने गरी समुदायसंग मित्रताको सम्बन्ध बनाउन सरसफाई सामाग्री सहयोगले थप विश्वास पुग्ने गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन् । 

सरसफाई सामाग्री सहयोग संगै आगामी दिनमा थप क्रियाकलाप सञ्चालन गर्ने थापाले सुझाव दिएकी छन् । समुदायमै गएर बैंकका हरेक क्रियाकलाप सञ्चालन गरी समुदाय र बैंक बीचको सम्बन्ध थप प्रगाढ बनाउनु पर्नेमा थापाले जोड दिएकी छन् ।

सरसफाई सामाग्री बुझ्दै गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले बैंक र समुदायबीचको सम्बन्ध नङ्गमासुको जस्तै बनाउनु पर्नेमा जोड दिनुभएको छ । सरसफाई सामाग्री संगै अन्य जनचेतनामूलक क्रियाकलाप पनि बैंकहरुले गर्ने आग्रह गर्नु भएको छ । 

बैंकको २० औं बार्षिक उत्सवको पूर्व सन्ध्यामा गौमुल गाउँपालिकामा बैकिङ्ग कारोबारका साथ साथै स्वच्छ वातावरण निमार्ण गर्न सरसफाई सामाग्री वितरण गरिएको बैंकका कर्जा सहायक दिपेन्द्र जैशीले बताएका छन् । 

बैंकले आगामी वर्षमा विभिन्न सामाजिक गतिविधिहरु र वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने शाखा प्रबन्धक नरेन्द्र सिंह साउँदले बताएका छन् । सामाजिक उत्तरदायित्व बहन गदैं आगामी दिनमा अन्य वडा तथा टोलमा पनि विभिन्न गतिविधि सञ्चालन गरिने भएका छन् ।

बैंकले आज आफ्नो २० औं वार्षिक उत्सव केन्द्रदेखि देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

No description available.No description available.



शनिबार २१, चैत २०७७ ०६:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.