‘भारतमा कोरोनाको दोस्रो लहर फेब्रुअरीबाटै’

नजिक न्युज संवाददाता    

‘भारतमा कोरोनाको  दोस्रो लहर फेब्रुअरीबाटै’

- एसबिआईको २८ पेजको प्रतिवेदनअनुसार भारतमा फेबु्रअरीको दोस्रो साता नै कोरोना भाइरसको दोस्रो लहर सुरु भएको थियो, यो कम्तीमा सय दिनसम्म चल्नेछ- कोरोनामाथि नियन्त्रण गर्न सरकारले प्रतिदिन ४०–४५ लाख भ्याक्सिन उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ, अहिले भारतमा प्रतिदिन औसतमा ३४ लाख खोप वितरण भइरहेको छ 

- आइएमएले एक वर्षभित्र कोरोना भाइरसका कारण सात सय ७१ डाक्टरको निधन भएको जनाएको छ, तमिलनाडुमा सर्वाधिक ८८ र पश्चिम बंगालमा ७९ डाक्टरले ज्यान गुमाए

भारतमा फेब्रुअरीबाट कोरोना भाइरसको दोस्रो लहर सुरु भएको स्टेट बैंक अफ इन्डिया (एसबिआई)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा उल्लेख भएको छ । विभिन्न सहर तथा राज्यमा गरेको सर्वेक्षणमा फेब्रुअरीदेखि नै विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसको दोस्रो लहर भारतमा चलेको एसबिआईले दाबी गरेको छ । रिपोर्टअनुसार भारतमा दोस्रो लहरको कोरोना सय दिनसम्म रहनेछ । 

दोस्रो लहरको ट्रेन्ड २३ मार्चलाई मानिएको छ । अहिलेसम्म भारतमा दोस्रो लहरबाट २५ लाख संक्रमित भइसकेका छन् । एसबिआईले स्वास्थ्य मन्त्रालयमा बुझाएको २८ पेजको प्रतिवेदनमा ग्रामीण क्षेत्रमा लकडाउनको कुनै अर्थ नरहेको भनाइ राखिएको छ । ‘ग्रामीण क्षेत्रमा लकडाउन गर्दा खासै प्रभावकारी देखिएको छैन,’ एसबिआईको रिपोर्टमा भनिएको छ । 

संक्रमण हुनबाट सुरक्षित रहने एक मात्र उपायका रूपमा भ्याक्सिन लिनु नै हो । ‘संक्रमित हुनबाट जोगिन र महामारीका रूपमा कोरोना फैलाउन नदिन एक मात्र विकल्प भनेको सबैले भ्याक्सिन लगाउनु नै हो,’ एसबिआईको रिपोर्टमा उल्लेख छ, ‘यदि अहिले नै यसबारेमा विचार गरिएन भने अप्रिलसम्म भारतमा कोभिड–१९ को अवस्था गत वर्षभन्दा पनि भयावह हुन सक्छ ।’ 

गत वर्षको सेप्टेम्बरमा दोस्रो लहर चल्दा भारतमा प्रतिदिन ९० हजार संक्रमित भएको एसबिआईको दाबी छ । सरकारले समयमै लकडाउन घोषणा नगर्दा आर्थिक संकट परेको जनाइएको छ । ‘भारतमा दिनप्रतिदिन संक्रमित संख्याको मध्यनजर राख्दै सरकारले तत्कालै लकडाउन गर्नुपर्ने थियो, समयमै लकडाउन नहुँदा देशकै अर्थतन्त्रमा गम्भीर असर परेको देखिन्छ,’ रिपोर्टमा उल्लेख छ, ‘यो लकडाउन गत महिना नै हुनुपर्ने थियो ।’ 

एसबिआईले सरकारले तत्काल विभिन्न राज्य तथा सहरमा भ्याक्सिन वितरण कार्यलाई तीव्रता दिनुपर्ने सुझाब दिएको छ । अहिले भारतमा प्रतिदिन ३४ लाखले भ्याक्सिन लिइरहेका छन् । एसबिआईको रिपोर्टअनुसार सरकारले प्रतिदिन ४०–४५ लाख भ्याक्सिन वितरण गर्नुपर्छ । ‘यस किसिमको रणनीतिमा तीन वा चार महिनाभित्र लगभग ४५ वर्षमाथिका सबै भ्याक्सिनको पहुँचमा पुग्नेछन्,’ रिपोर्टमा उल्लेख छ । 

यता, भारतको स्वास्थ्य मन्त्रालयले बुधबार पछिल्लो पाँच महिनाभित्र एकै दिन धेरै संक्रमित भएको जनाएको छ । बुधबार मात्र भारतमा ५३ हजार चार सय ७६ जना संक्रमित भए । यसैगरी, १८ राज्यमा कोरोनाको नयाँ प्रजाति भेटिएको छ । यसैबीच, आइएमएले एक वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सिएमआरका निर्देशक बलराम भार्गवले भारतमा दोस्रो चरणको कोरोना लहर निर्धारित समयभन्दा अघि नै आएको जानकारी दिएका छन् । ‘अहिले अनुमानअघि नै दोस्रो चरणको लहर देखिएको छ, त्यसैले हामी सबै सुुरक्षित र सचेत हुनुपर्छ,’ निर्देशक बलरामले भने । भारतलाई दोस्रो लहरबाट रक्षा गर्न सबै क्षेत्रमा मास्क र स्यानिटाइजर अनिवार्य गर्नुपर्ने भार्गवले सुझाब दिएका छन् । 

यसैबीच, आइएमए प्रतिवेदनमा एक वर्षभित्र कोरोना भाइरसका कारण सात सय ७१ डाक्टरको निधन भएको जनाएको छ । तमिलनाडुमा सर्वाधिक ८८ डाक्टरले ज्यान गुमाए । गुजरातमा ५१, महाराष्ट्रमा ७०, पश्चिम बंगालमा ७९ र कर्नाटकमा ६६ डाक्टरको निधन भएको आइएमएको प्रतिवेदनमा उल्लेख छ । 



शनिबार १४, चैत २०७७ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.