जेष्ठ नागरिकका लागि बाजुरामा आइपुग्यो ७ हजार डोज कोरोना खोपको भ्याक्सीन

नजिक न्युज संवाददाता    

जेष्ठ नागरिकका लागि बाजुरामा आइपुग्यो ७ हजार डोज कोरोना खोपको भ्याक्सीन

बाजुरा : बाजुरामा तेस्रो चरणको कोरोना विरुद्धको खोप अन्र्तगत ७ हजार डोज आइपुगेको छ । फागुन २३ गतेबाट सुरु हुने खोप अभियानका लागि ७ हजार भ्याक्सीन बाजुरा आइपुगेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । 

आवश्यक माग अनुसार डोज नआएपनि उपलब्ध भ्याक्सीन लगाउन सुरु गर्ने तयारी गरिएको छ । ५५ वर्ष उमेर समूह माथिको जनसंख्या जिल्लामा १८ हजार ८ सय ७९ जना रहेपनि खोपको मात्रा ७ हजार मात्र पठाईएको छ । सरकारले तेस्रो चरणको खोप ५५ वर्ष उमेर माथिका नागरिकलाई लगाउने निर्णय गरेको छ ।

माग १८ हजार ८ सय ७९ भ्याक्सीनको गरिएपनि उपलब्धता ७ हजार मात्र भएकोले दुई चरण गरेर खोप लगाउने कोभिड १९ रोग बिरुद्धको खोप अभियानका समन्वय तथा अनुगमन समितिको बैठकले निर्णय गरेको छ । 

तेस्रो चरणको खोप अभियान अन्र्तगत ७ हजार डोज कोल्टी क्षेत्रका चार वटा स्थानीय तहबाट लगाउन सुरु गर्ने निर्णय गरिएको छ । बैठक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा बसेको हो । कोल्टी क्षेत्रमा चार स्थानीय तहमा ५५ वर्ष उमेर माथिको जनसंख्या ७ हजार १ सय ५४ जना रहेको छ ।

भ्याक्सीन कम पठाएपछि तेस्रो चरणको खोप अभियानमा खोपको मात्रा अपुग भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । नौ वटै स्थानीय तहमा लगाउने भनिएको खोप ७ हजार डोज मात्रै भएकोले बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकात्र्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा लगाईने भएको छ ।

तत्काल थप आवश्यक डोज पठाउनका लागि माग गरिएको र आइपुगे लगत्तै सुरु गरिने स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । भारतबाट आउने खोप नेपाल आइपुग्न ढिलाई भएकोले आवश्यक मात्रामा नपठाएको बुझिएको छ । खोप अभियान फागुन २३ देखि २९ सम्म सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।

बाजुरामा पहिलो चरणमा स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वंयम सेविका र कोरोनाका कारण मृत्यु भएका ब्यक्तीको शव ब्यबस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाईएको थियो । भने दोस्रो चरणमा कर्मचारी स्थानीय तहका जनप्रतिनिधी बित्तिय तथा गैर सरकारी संस्थाका कर्मचारी र पत्रकारहरुलाई खोप लगाईएको थियो ।



बिहिबार २०, फागुन २०७७ ०७:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.