कोल्टी-मार्तडी सडकको भाडा ४७३ तोकियो, प्रति किलोमिटर ११ रुपैयाँ मात्र लिन पाइने

नजिक न्युज संवाददाता    

कोल्टी-मार्तडी सडकको भाडा ४७३ तोकियो, प्रति किलोमिटर ११ रुपैयाँ मात्र लिन पाइने

बाजुरा : बाजुरा जिल्लाका ग्रामिण सडकमा नयाँ भाडादर तोकिएको छ । प्रति किलोमिटरमा ११ रुपैया लिन पाउने गरी नयाँ भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुरा बसेको सर्वपक्षिय बैठकले जिप लगायतका यातायात साधनले तोकिएको भाडा लिन पाउने गरी लिखित निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेकै अध्यक्षतामा बसेको बैठकले जीपले मनोमानी भाडालिन नरोकेको र खुलेआम यात्रुहरुलाई ठगि गर्ने गरेको गुनासो आउन थालेपछि भाडा नै तोकिदिएको हो ।

जीप व्यवसायीहरुले मनोमानी भाडा असुल्ने र यात्रुहरु क्षमता भन्दा बढी लिने गरेकाले जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी सहीतका ग्रामिण सडकमा नयाँ भाडादर तोकिको हो ।

प्रति किलोमिटर ११ रुपैया भाडा लिने गरी सहभागि भएको छ । जसमा मार्तडीदेखि कोल्टीसम्मको ४३ किलोमिटर सडकमा यात्राका लागि ४७३ रुपैया तिर्नु पर्ने भएको छ । यस अघि कोल्टीसम्मकै लागि एक हजारसम्म भाडा असुली गर्ने गरेका थिए ।

जीप व्यवसायीहरुले चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने, तथा जीपमा भाडादर टाँस्नुपर्ने निर्णय गरिएको छ । यदी त्यो कार्य नगरिएको र निर्णय बाहिर रहेर भाडा लिने गरेको पाइएमा कानुनी कारवाही गर्ने निर्णय गरिएको प्रहरी नायव उपरीक्षक मदनजित महराले बताएका छन् ।

बैठकले जथाभावी रुपमा सवारी साधन पार्किङ्ग गर्न नपाइने, दुनीहाट बजारका हकमा साँझ ७ बजे पछि र विहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्न पाइने गरी नर्णय गरिएको छ । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका छन् ।

तोकिएको भाडा जिल्लाका सबै ग्रामिण सडकको हकमा लागु पर्ने छ । बैठकमा जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधी, प्रहरी प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।



सोमबार १०, फागुन २०७७ ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.