अनपढ भएरैपनि वडा सञ्चालनमा अब्बल छन्, बाजुराकी एक्ली महिला वडा अध्यक्ष कला बडुवाल

नजिक न्युज संवाददाता    

अनपढ भएरैपनि वडा सञ्चालनमा अब्बल छन्, बाजुराकी एक्ली महिला वडा अध्यक्ष कला बडुवाल

बाजुरा : अनपढ पनि असक्षम हुदैनन्, समाजका लागि केही गरि देखाउन सक्दछन् भन्ने उदारण हुन्, कला बडुवाल । शिक्षाका नाममा नाम लेख्न बाहेक अरु केही आउँदैन् । तर समाज रुपान्तरणको यात्रामा भने कुनै डिग्री होल्डर भन्दा कम भूमिका छैन् बडुवालको । 

बडिमालिका नगरपालिका ६ की वडा अध्यक्ष हुन् बडुवाल । जिल्लाका ६९ वडामा बडुवाल एक्ली महिला अध्यक्ष हन् । गाउँमा पुरानो सोच, अज्ञानी र अशिक्षित समाज, छोरीलाई पढाउनु हुन्न भन्ने मान्यता हाबी भएकै कारण बडुवालले औपचारिक शिक्षा पढ्न पाइनन् । जसका कारण उनी अनपढ वा विद्यालय शिक्षाबाट वञ्चित बनिन् । नाम लेख्न र हस्ताक्षर गर्न बाहेक बडुवाललाई आउँदैन् । 

औपचारिक शिक्षा पढ्न नपाएपनि समाज भने बडुवालले गहिरो ढंगबाट अध्ययन गरेकी छन् । जिल्लाका नौ वटा स्थानीय तहका ६९ वटा वडा मध्ये बडुवाल एक्ली महिला वडा अध्यक्ष हुन् । उनले नेपाली काँग्रेसबाट २०७४ को स्थानीय चुनाव जितेकी हुन् । 

४२ वर्षकी बडुवालले ढिलो गरि राजनीति बुझीन् । २०५४ सालको स्थानीय चुनावमा मतदान गर्दा सम्म पनि उनलाई राजनीति थाह थिएन् । बरु घर आँगन सफा गर्ने, वन संरक्षण गर्ने महिला माथि हुने दमन हट्नु पर्ने मान्यता सुरु देखि नै राख्दै आएकी थिइन् । 

२०६४ पछि उनले बुढीगंगा गाविस महिला अधिकार मञ्चको कोषाध्यक्ष बनिन् । सभा सम्मेलन, गोष्ठीमा भाग लिने अवसर जट्दै गयो, उनको व्यक्तित्व पनि खारिदै गयो । पछि सबैले अध्यक्षकै जिम्मेवारी दिए । छाउ गोठ मुक्त, महिला हिंरा रोकथाम, विद्यालय भर्ना, खुला दिसा मुक्त अभियानमा प्रत्यक्ष सहभागि भईन् र साविक गाविसमा महिलाकै अगुवाइ गरिन् । 

विश्वास बटुल्दै गएकी बडुवाल विस्तार काँग्रेसको राजनीतिमा पनि सक्रिय बनिन् । पढेर भन्दा सुनेर र बुझेर उनीले जबरजस्त राजनीति रोजिन् । अभियानमा भाग लिँदा सुरुमा कुरा काट्ने धेरै भए । आजको मितिमा पनि केही गर्न नसकेका तर पनि प्रमाण पत्र हातमा लिएका महिलाहरुले गिज्याउने गरेका गुनासो बडुवालले सुनाउने गरेकी छन् । 

तरपनि उनले हिम्मत हारेकी छैनन् । भोगाइ नै मेरा लागि शिक्षा हो, समाजले नै राम्रो ज्ञान दिएको हो, लेख्न नसकेपनि गर्न र बोल्नमा कमजोर नहुने साहस बडुवालमा छ । श्रीमान र २ सन्तानको परिवार बडुवालको छ । 

योजना छनोट, बजेट निर्माण देखि एकल महिलाका पक्षमा पहिलो निर्णय गर्न पक्षमा लवी बडुवालले गर्ने गरेकी छन् । पुरुष वडा अध्यक्ष भन्दा उनीमा आँट र क्षमता कुनै कमी छैन् । नगर सभामा बोल्ने र अडान पेश गर्ने क्षमता लोभ लाग्दो रहेको अरु वडा अध्यक्षले पनि तारिफ गर्ने गरेका छन् ।  

वडामा टेवा नेपाल र महिला विकास मञ्चको संयुक्त सहकार्यमा नेतृत्व विकास र जनप्रतिनिधी महिलाको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ । यसबाट पनि धेरै कुरा थाह पाएको बडुवाल बताउँछन् ।

महिलाले चुनाव जित्न सक्दैनन्, त्यसैमा अनपढले के वडा चलाउँन सक्छन् भन्ने विरोध पनि नआएको होइन्, विरोध गर्ने र कुरा काट्ने कुरा भईरहेको छ, तरपनि बडुवालले आफ्नो यात्रामा कुनै विचलन देखाएकी छैनन् । बडुवाल प्रमाण प्राप्त गरेर पनि केही गर्न नसकेका र अनपढ भएकै कारण केही गर्न सकिदैन् भन्ने मान्यता राख्नेहरुका लागि गतिलो उदारण हुन् । 



आइतबार ०९, फागुन २०७७ ०८:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.