सन्दीप बिकेनन्, ५७ खेलाडीका लागि एक अर्ब ४५ करोड खर्च

नजिक न्युज संवाददाता    

सन्दीप बिकेनन्, ५७ खेलाडीका लागि एक अर्ब ४५ करोड खर्च
तस्विर–फाइल

काठमाडौं : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणमा सहभागी हुने सम्भावना कम हुँदै गएको छ । निलामी प्रकृयामा उहाँलाई खरिद गर्न कुनै पनि फ्रेञ्चाइजले इच्छा नदेखाएपछि उहाँ खेल्ने सम्भावना कम भएको हो ।

सन्दीप लामिछानेको न्यूनत्तम मूल्य ४० लाख रुपियाँ निर्धारण गरिएको थियो । तर उहाँलाई कुनै पनि टोलीले खरिद गर्न इच्छा देखाएनन् । सन्दीप सन् २०१७ देखि प्रिमियर लिगमा सहभागी हुँदै आउनुभएको छ । सन् २०२० को संस्करणमा उहाँले एउटै खेलमा अवसर पाउनुभएन । जनवरी अन्तिममा देल्ही क्यापिटल्सले उहाँलाई मुक्त गरेको थियो ।

बिग बैश लिगमा औसत प्रदर्शनले सन्दीप लामिछाने आईपीएलको आगामी संस्करणमा बिक्री हुने अपेक्षा गरिएको थियो । निलामी प्रकृयाबाट बिक्री नभएको अवस्थामा उहाँलाई जुनसुकै फ्रेञ्चाइजले न्यूनत्तम मूल्यमा राख्न पाउक्नेछ ।

इन्डियन प्रिमियर लिगको आगामी संस्करणका लागि फ्रेञ्चाइजहरुले  बिहीबार एकै दिन ५७ खेलाडी खरिद गरेको छ । जसमध्ये २२ जना विदेशी क्रिकेटर हुनुहुन्छ । ५७ खेलाडीका लागि फ्रेञ्चाइजहरुले एक अर्ब ४५ करोड ३० लाख भारतीय रुपियाँ खर्च गरेको छ ।

चेन्नईले छ जना खेलाडी खरिद गरेको छ । उसले कृष्णप्पा गौथमका लागि नौ करोड २५ लाख खर्च गर्यो । इंग्ल्याण्डका अलराउन्डर मोइन अलिले सात करोड पाउनुभयो । उहाँलाई चेन्नईले नै खरिद गर्यो ।

देल्ही क्यापिटल्सले आठ खेलाडी खरिद गरेको छ । सबैभन्दा बढी उसले टम कर्रनमा पाँच करोड २५ लाख खर्चेको छ । स्टिभ स्मिथका लागि उसले दुई करोड २० लाख खर्च गर्यो ।

कलकत्ताले आठ, मुम्बईले सात, पञ्जाबले नौ, राजस्थानले आठ, बैंग्लौरले आठ र हैदराबादले तीन खेलाडी किनेको छ ।
आगामी संस्करणका लागि दक्षिण अफ्रिकी अलराउन्डर क्रिष्टोफर मोरिस हालसम्मकै सबैभन्दा महँगो दरमा बिक्री हुनुभएको छ । उहाँलाई राजस्थानलाई १६ करोड २५ लाखमा किनेको छ । अष्ट्रेलियाका झ्ये रिचर्डसनले १४ करोड पाउनुभयो । उहाँ तीव्र गतिका बलर हुनुहुन्छ । उहाँलाई पञ्जाब किंग्सले खरिद गरेको छ ।

न्युजिल्याण्डका कायम जमिन्सनले १५ करोड पाउनुभयो । उहाँलाई रोयल च्यालेन्जर्स बैंग्लौरले १५ करोडमा किनेको छ । उहाँ अलराउन्डर हुनुहुन्छ ।



शुक्रबार ०७, फागुन २०७७ ०२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.