पर्यटन पूर्वाधार विकासका २ सय योजनामा बाजुराका ४ वटा गन्तव्य छनोट

नजिक न्युज संवाददाता    

पर्यटन पूर्वाधार विकासका २ सय योजनामा बाजुराका ४ वटा गन्तव्य छनोट

बाजुरा : सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले छनोट गरेका २ सय योजनामा बाजुराका ४ वटा योजना समावेश भएका छन् । पर्यटन प्रवद्र्धन र विकासका लागि २ सय योजनाको सूचीमा बाजुराका ४ वटा गन्तव्य समावेश गरिएको छ । 

सम्बन्धीत प्रदेश र स्थानीयतहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी देशभरका दुई सय नमुना आयोजना छनौट गरिएको छ । जिल्लामा रहेका प्रमुख गन्तव्य मध्येबाट बृहत योजना सहीत संरचना निर्माणका लागि योजना छनोटमा परेका हुन् । 

जगन्नाथ गाउँपालिकामा गोत्रीदेखि शिव गुफासम्म जाने पदमार्गका लागि १ करोड २९ लाखको योजना सिफारिस गरिएको छ । यस्तै गौमुल गाउँपालिकामा गौमुल फन पार्क निर्माणका लागि १ करोड ५० लाख बजेट प्रस्ताव गरिएको छ ।

बडिमालिका नगरपालिकाको कालाजग्रा पर्यटन पार्क तथा पद मार्ग साझेदारी कार्यक्रमका लागि २ करोड ४४ लाख र त्रिवेणी नगरपालिकाको नाटेश्वरी बडिमालिका बृहत धार्मीक पर्यटक योजनामा २ करोड २३ लाख बजेट प्रस्ताव गरिएको छ । 

स्थानीय तह र प्रदेश सरकारसँगको सयुक्त सहकार्यमा योजना निर्माण गरिने प्रावधान गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पहिलो चरणमा चार वटा स्थानीय तहलाई संवोधन गर्ने गरी पर्यटन पूर्वाधार कार्यक्रम परेको विघटित संसदका सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले बताएका छन् । 

सरकारले एक स्थानीय तह एक पर्यटन पूर्वाधार कार्यक्रम अघि सारेको छ । यसैवर्षबाट कार्यान्वयन हुनेगरी योजना छनोट गरिएको हो । तत्कालिन संघिय सभा सदस्य लालबहादुर थापा सहीत नेताहरुको पहल र नेपाल सरकारको नीति अनुरुप नै योजना छनोट गरिएका हुन् ।

संस्कृति, पर्यटन तथा नगरिक उड्यनमन्त्री भानुभक्त ढकालले पू्र्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा काम गर्नेगरी दुई सय आयोजना छनौट गरेको बताएका छन् ।



शुक्रबार ३०, माघ २०७७ ०५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.