कैलालीमा राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुँदै

नजिक न्युज संवाददाता    

कैलालीमा राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुँदै

झलनाथ खनाल, टीकापुरः कैलालीको टीकापुरमा करिब ४ वर्षपछि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।

अन्य खेलकुद प्रतियोगिताहरुको आयोजना हुँदै आएपनी भलिबल खेल नभएको भन्दै फागुन ३ गतेबाट राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

नेपालको राष्ट्रिय खेल भलिबल भएपनी पछिल्लो समयमा अन्य खेल विधाको तुलनामा भलिबल ओझेलमा पर्दै गएको भन्दै स्थानीय स्तरमा त्यसको जगेर्नाका  सिर्जनशील युवा समाज नेपालले प्रतियोगिताको आयोजना गर्न लागेको हो। 

‘स्थानीय सरकारले पनि भलिबललाई आफ्नो प्राथमिकतामा राख्ने सकेन। समुदायमा भएका खेलाडीहरु पनि विस्थापित हुँदै गएका छन’ संयोजक नन्दसिंह बिकले भने, ‘यसले कतै भलिबल खेल हराउँदै जाने होकि भन्ने त्रास पनि बढाएको छ। त्यही भएर पनि खेलको संरक्षणका लागि जनचेतना फैलाउन खेलको आयोजना गर्न लागेका हौ।’

उनले भलिबल प्रतियोगितासँगै लागुऔषध विरुद्धको जनचेतनामुलक साँस्कृतिक कार्यक्रम समेत रहने बताउदै युवाहरूलाई खेल खेलाउनुको साथै खेलप्रति जिम्मेवार भई फुर्सदको समयमा कुलतमा नभई खेलमा जोडिन आह्वान गरिने बताएका छन्। 

खेलको बिजेता टिमले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने खेलको दोस्रो र तेस्रोले क्रमशः २० हजार नगद, प्रमाणपत्र र  ७ हजार नगद, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। फागुन २ गतेसम्म आफ्नो टिम दर्ताको लागि समेत आह्वान गरिएको छ।

भलिबल खेलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बिष्णुराज भाटले पहिले जताततै भलिबल खेलकोमात्र चर्चा हुनेगरेको भएपनी अहिले समुदायस्तरबाटै भलिबल विस्थापितको अवस्थामा पुगेको बताएका छन्।

‘भलिबलमा स्थानीय र प्रदेश सरकारको भुमिका शून्य देखिको छ। अन्य खेलमा  सरकारको लगानी बढेपछि खेलाडीहरु पनि अरुनै खेलमा आकर्र्षित हुन थालेका छन्’ उनले भने, ‘अब राष्ट्रिय खेललाई बचाउने जिम्मेवारी हामी सबैको छ। खेल विधा र सबै खेलाडीलाई सरकारले हेर्ने दृष्टिकोण फरक हुनुपनि हुँदैन।’



बिहिबार २९, माघ २०७७ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.