सुदूरपश्चिममा ३११ नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा ३११ नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि

धनगढी: सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ३ सय बढीको परीक्षण गर्दा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बैतडी र बझाङ तथा अछामको कमलबजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ११ जनाको परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय २० जनाको परीक्षण गर्दा  २२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।  

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १० सहित २२ जनामा संक्रमण देखिएको बताए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, ४, ७ र ठेगाना नखुलेका १/१ जनामा संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ । यस्तै कञ्चनपुरको महाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकाका १/१ जना र बैतडीका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।  

जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ६९ जनाको परीक्षण गर्दा थप ५ जना र जिल्ला अस्पताल बझाङका १८ को परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।  

उनका अनुसार अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ४० पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ९ सय ५७ सय जनाले कोरोना जितेका छन्  भने ५० जनाको मृत्यु भएको छ ।  



आइतबार ०७, मङि्सर २०७७ ०७:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.