प्रचण्डको प्रतिवेदन : ‘ओली प्रवृत्ति’ को व्याख्या (पूर्णपाठसहित)

नजिक न्युज संवाददाता    

प्रचण्डको प्रतिवेदन : ‘ओली प्रवृत्ति’ को व्याख्या (पूर्णपाठसहित)

 काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी, आन्दोलन र देशकै निम्ति ‘ओली प्रवृत्ति’ को व्यापक चिरफार आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष प्रचण्डले ‘ओली प्रवृत्ति’लाई सैद्धान्तिकरण गरेर त्यसको व्याख्यासमेत गरेका छन् ।

प्रचण्डले सचिवालयमा पेश गरेको लिखित प्रस्तावमा ‘ओली प्रवृत्ति’को व्याख्या गर्दै भनिएको छ, ‘वैचारिक-राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्दति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ ।’

प्रचण्डको दस्तावेजमा अगाडि भनिएको छ, ‘उहाँमा विद्यमान यो प्रवृत्तिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह-पूर्वाग्रहको कुरा होइन, अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य शर्त हो ।’

प्रचण्डले अब पार्टीभित्र पदीय भागवण्डा गरेर मात्रै समस्या समाधान नहुने बताएका छन् । ‘गम्भीर र जटील समस्याहरुको सामना अब स-साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्न असम्भव छ’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘यसका निमित्त वैचारिक-राजनैतिक कार्यदिशा, संगठनात्मक विधि-पद्दति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ ।’

यसका लागि अब केपी ओलीले ‘त्याग देखाउनुपर्ने’ निश्कर्षसहितको प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालनमा पूरै असफल भएको प्रचण्डको निश्कर्ष छ । ‘आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् ।’

सचिवालय बैठकमा के के भयो ?

शुक्रबार अपरान्ह ४ बजेपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकमा सुरुमा प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलतर्फ लक्षित गर्दै ‘ल भन्नुस् केके भन् एजेण्डा ?’ भनेर विषयवस्तुमा प्रवेश गरेका थिए ।

अध्यक्ष ओलीको रुलिङपछि महासचिव पौडेलले स्थायी कमिटीको बैठकका निर्णयहरु कार्यान्वयन सम्बन्धमा…. यस्तै विषयहरु त हुन् भने । महासचिव बोल्दै गर्दा अर्का अध्यक्ष प्रचण्डले उनलाई ‘क्रस’ गरेर भने, म केही बोल्छु ।

प्रचण्डले पार्टीमा उत्पन्न संकटका बारेमा बताउँदै पाँचजना नेताले बैठकको माग गरेको, प्रधानमन्त्रीले पत्र लेखेको र आफूले पनि त्यसको जवाफमा पत्र लिएर आएको बैठकमा बताए । साथै उनले लिखित राजनीति प्रस्ताव पनि बैठकमा प्रस्तुत गरे ।

आफूले पेश गरेको प्रस्तावमाथि सबै सदस्यले छलफल गरेपछि स्थायी कमिटीमा जाऔं भन्ने प्रचण्डले प्रस्ताव गरे । प्रचण्डको भनाइमा साथ दिँदै बरिष्ठ नेता माधवकुमार नेपालले पनि स्थायी कमिटी बैठकमा जाऔं भने ।

तर, प्रधानमन्त्री ओलीले मलाई धेरै छलफल गर्नु छैन भन्दै सचिवालयमै छलफल नगरिएको विषय स्थायी कमिटीमा जान नमिल्ने बताए । अर्का नेता वामदेव गौतमले पनि सचिवालयमै छलफल गरौं भनेपछि मंसिर ३ गते दिउँसो १ बजे फेरि सचिवालय बैठक राख्ने र अध्यक्षका पत्र अनि प्रचण्डको लिखित प्रस्तावमाथि छलफल गर्ने सहमतिका साथ बैठक टुंगिएको एक नेताले अनलाइनखबरलाई बताए ।

शुक्रबारको बैठकमा लिखित कागजातहरु बाँडिएका कारण मौखिकरुपमा लामो छलफलै नभएको स्रोतले बतायो ।

 

प्रचण्डले औंल्याएका ‘ओली प्रवृत्ति’ का विशेषताहरु !

प्रधानमन्त्री ओलीमा देखापरेको व्यवहार र विचारलाई ‘सैद्धान्तीकरण’ गर्ने प्रयास गर्दै प्रचण्डले उनको चरित्र चित्रण गरेका छन् । राजनीतिक प्रस्तावको मुख्य भाग नै केपी ओलीमाथि केन्दि्रत छ । र, ओलीमा देखापरेको प्रवृत्तिको चिरफारका देशका लागि आवश्यक रहेको प्रतिवेदनमा निश्कर्ष निकालिएको छ । प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीले चारवटा क्षेत्रमा प्रहार गरिरहेका छन् :

  • पार्टी एकताका वैचारिक-राजनैतिक आधार र भावनामाथि प्रहार ।
  • संगठनात्मक, सिद्धान्त र विधि-पद्धतिमाथि प्रहार ।
  • सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार ।
  • स्थायी समितिको पछिल्लो बैठकका निर्णयहरुमाथि प्रहार ।

प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा ‘क्वाइन’ गर्न खोजेको ‘ओली प्रवृत्ति’ का केही विवरण यस्ता छन्-

-कमरेड केपी शर्मा ओलीले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव-उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनुभएको छ ।

– कमरेड केपी ओलीले पार्टी एकताको वैचारिक-राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको मात्र होइन बरु त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहनुभएको छ ।

– कमरेड ओलीले संविधानको मर्म र भावनाअनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहनु भयो । हालै कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाइ मात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गरेर उहाँले आफूलाई संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना विपरित रहेको तथ्य प्रमाणित गरिरहनुभएको छ । पार्टी एकता र संविधानका आधारभूत वैचारिक राजनैतिक पक्षमाथि कमरेड केपी ओलीबाट निरन्तर प्रहार भएकै कारण आज पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको छ ।

-कमरेड ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरीत रहेको छ । बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नुपर्दछ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन् । स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवि वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ ।

हेर्नुहोस् प्रचण्डको राजनीतिक प्रस्तावको पूर्णपाठ :

 

 



शनिबार २९, कार्तिक २०७७ ११:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.