आईपीएलको उपाधि मुम्बईलाई, फाइनलमा दिल्ली ५ विकेटले पराजित

नजिक न्युज संवाददाता    

आईपीएलको उपाधि मुम्बईलाई, फाइनलमा दिल्ली ५ विकेटले पराजित

दुबई : इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले फाइनलमा पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो। 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा दिल्लीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो। दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

मुम्बईको सहज जितका लागि कप्तान तथा ओपनर रोहित शर्माले ६८ रन जोडे। त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २० रन बनाए। यसैगरी सूर्यकुमार यादवले १९ रनको योगदान गरे।

दिल्लीका एनरिच नोट्र्जेले २ तथा कगिसो रबाडाले १ विकेट लिए। त्यस्तै मार्कस स्टोनिसले १ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस अयरले ६५ रन बनाएका थिए। त्यस्तै रिसभ पन्तले ५६ रन जोडेका थिए भने शिखर धवनले १५ रन जोडेका थिए। यसबाहेक अन्य ब्याटसमेनले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

दिल्लीलाई सस्तैमा रोक्न मुम्बईका ट्रेन्ट बोल्टले धारिलो बलिङ गर्दै ३ विकेट लिए। त्यस्तै नाथन कोल्टर निलले २ र जयन्त यादवले १ विकेट हात पारे।

हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्लीले भने उपविजेतामै चित्त बुझाउनु पर्‍यो।

लगातार आईपीएलको उपाधि जित्ने मुम्बई दोस्रो टिम
मुम्बई लगातार आईपीएलको उपाधि जित्ने दोस्रो टिम बनेको छ। यसअघिको १२औँ संस्करणको आईपीएल उपाधि मुम्बईले नै जितको थियो। उसले फाइनलमा चेन्नई सुपर किंसलाई १ रनले पराजित गर्दै रोमाञ्चक रूपमा उपाधि हात पारेको थियो।

लगातार आईपीएलको उपाधि जित्ने पहिलो टिम भने चेन्नई हो। उसले सन् २०१० र २०११ को आईपीएल उपाधि जितेको थियो।

कोरोना महामारीका कारण मिति र स्थान परिवर्तन गर्दै १३औँ संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको थियो। फाइनल सकिएसँगै आईपीएलको यो सिजन नाभेम्बर १० मा सकिएको छ।

 



बुधबार २६, कार्तिक २०७७ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.