बेतालमाडौं, डेल्टा आटीचौर सडक सञ्चालन, सातादिन भित्रै भौनेरा पुर्याउन तयारी

नजिक न्युज संवाददाता    

बेतालमाडौं, डेल्टा आटीचौर सडक सञ्चालन, सातादिन भित्रै भौनेरा पुर्याउन तयारी

बाजुरा : बर्षादका कारण अवरुद्ध बेलामाडौं डेल्टा आटीचौर सडक सञ्चालनमा आएको छ । खप्तड छेडेदह गाउँपालिकाले बर्षादले अवरुद्ध बाटो मर्मत पछि बेतालमाडौंबाट आटीचौरसम्म जीप र ट्याक्टर चल्न सुरु भएका छन् । बार्जूगाडको पहिरोले सेरा आटीचौर सडक समेत अवरुद्ध छ । 

सातादिन भित्रै बेतलमाडौं, आटीचौर भौनेरासम्म सडक सञ्चालन हुने गरी काम भइरहेको खप्तड छेडेदह गाउँपालिका ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । झिगीने र बार्जुगाडी खोलामा जीप र ट्याक्टर सञ्चालन हुने गरी सडक बनाएर आटीचौरसम्म बाटो सञ्चालन भएको अध्यक्ष रावतको भनाई छ । 

गाउँपालिका ३, ४ र ७ का वडाको पहलमा साता दिनमै बाटो मर्मत गरेर सञ्चालन गरिएको छ । बीचमा पानी नपरे अर्को जेष्ठ महिनासम्मका लागि बाटो सञ्चालन हुने गरी सडक मर्मत गरिएको र जीप, ट्याक्टर सहज रुपमा चल्ने अवस्था रहेको जीप व्यवसायी वुद्ध बुढाले बताएका छन् । 

बुढाले सडक मर्मत पछि पहिलो पटक आफ्नै जीप गुडाएर बेतालमाडौंबाट आटीचौर पुगेका छन् । तत्कालिन जिल्ला विकास समिति ड्रिलिप परियोजनाले निर्माण गरेको सडक सामान्य मर्मत पछि सञ्चालनमा आएको हो । हिँउदका महिनामा सञ्चालनमा रहेको उक्त बाटो बर्षादमा पहिरोले अवरुद्ध बनेको थियो ।  

बार्जुगाडमा निर्माणाधीन ट्रस्ट पुल केही समयमै पुरा गर्न ठेकेदारलाई गाउँपालिकाले ताकेता गरिसकेकोले अर्को वर्षका लागि बर्षादमा पनि असहज नहुने देखिएको छ । आटीचौरसम्म बाटो सुचारु भइसकेकोले सातादिनमै वडा क्षेत्रमा डोजरद्धारा मर्मत गर्न लगाएर सडक सुचारु गर्ने खप्तड छेडेदह गाउँपालिका ६ का वडा अध्यक्ष कुम्भ नाथ योगीले बताएका छन् ।

उपभोक्ता समिति मार्फत मर्मत गर्ने गाउँपालिकाले निर्णय गरिसकेकोले समिति मार्फत डोजर लगाएर तत्काल बाटो सञ्चालन गर्ने नाथको भनाई छ । सिंगो खप्तड छेडेदह गाउँपालिका बेतालमाडौं डेल्टा आटीचौर हुँदै भौनेरा मार्तडी सडक निर्माणका लागि सक्रिय देखिएको छ । 

बल्दे, द्धवारी, बार्जुगाड सहीतका स्थानमा आएको पहिरो र बेलीब्रीज निर्माणमा केही समय लाग्ने भएकोले भौनेरासम्मका लागि पनि ढुवानी सेवा सहज बनाउन माथिल्लो बाटो खोल्नेमा बडिमालिका नगरपालिका पनि तयार देखिएको छ । छेडेदह गाउँपालिकाले आफ्नो सीमानासम्म बाटो मर्मत कार्य सकेकै दिन भौनेरासम्मका लागि डोजर लगाउने बडिमालिका नगरपालिकामा नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

दीर्घकालिन सडकका रुपमा प्रदेश सरकारले गौरबकै योजनामा समावेश गरिसकेकोले मार्तडी आटीचौर सडकको भविष्य देखिएको छ । काँडाको सिंगादेखि मार्तडीसम्मको डिपीआरको आधा काम भइसकेको र प्रदेश सरकारले २ वर्ष लगाएर ११ करोड ३० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।  

आटीचौरसम्म बाटो पुगिसकेकोले भौनेरासम्म सातादिन भित्रै पुर्याउने गरि जनप्रतिनिधी लागि परेका छन् । असोज पहिलोसाता भित्रै भौनेरासम्म बेतालमाडौंबाट सहजै सवारी सधान सञ्चालन हुने अवस्था रहेको छ । साँफे मार्तडी सडक मर्मत हुँदै गर्दा बेतालमाडौं आटीचौर सडक सञ्चालन हुँदा जनजीवन सहज हुने देखिएको छ । दुरीमा पनि साँफे मार्तडी सडकको बेतालमाडौं देखि मार्तडी र बेतालमाडौं देखि आटीचौर मार्तडी समान रहेको छ ।  



बुधबार ३१, भदौ २०७७ १०:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.