सुगम संगीतको लय सम्हाल्दै ज्ञानेन्द्र

नजिक न्युज संवाददाता    

सुगम संगीतको लय सम्हाल्दै ज्ञानेन्द्र

बाजुरा :  रेडियोमा होस् कि टेप्रिकेटमा गीत बज्यो कि, नाच्ने बानीका थिए, ज्ञानेन्द्र गिरी । सानो छँदा गिरीको घरमा नत रेडियो थियो, नत टेप्रिकेट नै । तर पनि छिमेकमा कतै गीत बज्योकी लुकी लुकी नाच्ने गथ्र्ये । त्रिवेणी नगरपालिका ८ कालापानी जहाँ गिरीको जन्मघर हो । 

बाल्यकालमा हुर्कीदै गर्दा र आधारभुत स्तरको पढाई गर्दै गर्दा गिरीलाई राम्रो नृत्यकार बन्छ भन्नेहरु धेरै थिए । कक्षा ८ सम्मको पढाई गाउँमै रहेको र बाजुराकै पहिलो विद्यालय नरसिंङ निमाविमा पुरा गरे । त्यसपछि माध्यमिक तह रत्न मावि पढेका गिरीमा त्यो बेला पनि नृत्य गर्ने नै रुची थियो ।

विद्यालयमा हुने गाउने कार्यक्रममा सहभागि भएपनि नृत्य विधामा भने अनिवार्य भाग लिने गथ्र्ये । जब माध्यमिक विद्यालय तहको शिक्षा पुरा गरे र उच्च शिक्षाका लागि जिल्ला छोडे, गिरीको रहर फेरियो । विज्ञान विषय पढ्न थालेका गिरीले बीचमै लेखा विषय रोजे र प्रविणता प्रमाण पत्र तह पुरा गरे ।

त्यो बेलासम्म गिरीलाई गाउने र नाच्नेसँगै संगीत सिक्ने इच्छा जागिसकेको थियो । बाजुरा देशकै गरिब बस्ने जिल्ला हो । त्यो गरिबीको रोग गिरीको परिवारमा पनि थियो । रुची राखेकै विषयमा लगानी गर्न सक्ने अवस्था परिवारको थिएन् । तरपनि इच्छा लागेको विषय नै रोजे ।

रुची संगीतमा थियो । विज्ञान विषय फेरे, लेखा विषय छोडे र रत्न राज्य क्याम्पसमा संगीत विषय लिएर अध्ययन सुरु गरे । हाल संगीत विषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । सपनाको शहर काठमाडौं । तीन वर्षदेखि गिरी त्यही शहरमा संगीत सिक्नमा व्यस्त छन् ।

जहाँ इच्छा त्यही उपाय भनेजस्तै गिरीलाई संगीत विषय पढ्दै गर्दा कामगर्ने अवसर पनि मिलिरहेको छ । दुगर्म जिल्लाको मान्छे । कमजोर पारिवारीक स्थिति काठमाडौंमा बस्न सजिलो छैन् । गरिबीका बीच जीउनु पर्ने जीवन हर कोहीका लागि सहज हुदैन् पनि । त्यो असहजता र पीडा सुरुमा ज्ञानेन्द्रले पनि भोग्नु पर्यो ।

सिक्ने इच्छा संगीत तर बजाउन गितार, हार्मोनी कुनै साधान गिरीसँग हुदैनथ्ये । २४ वर्ष मात्र उमेर पुगेको छ । विगत पनि धेरै बितेको छैन् । तरपनि तीन वर्षपहिलेको मात्र जीवन सम्झीदा कम्ता दुख र कष्ट गरेनन्, । अरुसँग साधान मागियो, बजाउन सिकियो, कोहीले संगीत सिक्ने अनि साधान नबोक्ने कस्तो मान्छे पनि भने, गिरी सम्झीन्छन् ।

आमाबुबा दाइभाइ सबै बाजुरामै बस्छन् । गिरी काठमाडौंमा पढाइसँगै संगीत कर्ममा व्यस्त छन् । उनको एउटै लक्ष्य हो, राम्रो संगीतकार बन्ने । शब्द लेखनमा पनि राम्रो क्षमता राख्छन्, तरपनि संगीतकार ज्ञानेन्द्र गिरी भनेर चिनिने परिचयका लागि संघर्षरत छन् । 

देउडा, दोहोरी, रिमिक्स सबै प्रकारका गीतमा संगीत दिइसकेका छन् । तर उनको खास रुची सुगम संगीत क्षेत्रमै रमाउने छ । गिरीले संगीत भरेको गीतमा नेपाली गायन क्षेत्रका चर्चित व्यक्तित्व अञ्जु पन्त, मेलिना राई, सुरेश लामा, शशि रावलले स्वर दिइसकेका छन् । 

नेपाली आधुनिक गीत अर्थात सुगम संगीतको क्षेत्रमा युवा पुस्ताको संगीतकार बन्ने रुची राखेका गिरीले दुई दर्जन बढी गीतमा संगीत भरिसकेका छन् । क्याम्पस पढ्दै गरेका गिरीले भरेका डेढ दर्जन गीत बजारमा आइसकेका छन् । तीमध्ये आधा दर्जन गीत हिट नै भएका छन् ।

गोरु चराउँन जाँदा गनुगुनाउने गर्थे, गीत बज्दा नाच्ने गर्थे, डायरी लिएर गीत लेख्थ्येँ अब संगीत सिर्जनामा नै व्यस्त हुन चाहन्छन्, गिरी । शब्द लेख्ने, गाउने काम चटक्कै छोडेको नभई प्रमुख ध्यान संगीत क्षेत्रमै लगाउँछु, गाउने, गीत लेख्ने काम सांगीतीक क्षेत्रमा लागेपछ भइहाल्छ गिरी भन्छन् ।

प्रतिस्प्रर्धी बजार छ । हजारौं संगीत क्षेत्रमा साधान गरिरहेका छन् । तीमध्ये सबैले नाम र दाम दुबै कमाउने कमै संभावना हुन्छ । ती कमै मध्ये पर्ने र नाम अनि दाम दुबै कमाउने संघर्षमा छन्, गिरी । 

घर परिवारको सपना पनि हो, संगीतकार बनोस् भन्ने हो, सुदूरपश्चिममा पनि राम्रा संगीतकार जन्मिन्छन्, भन्ने सन्देश दिन चाहन्छु, सफल हुने गरी लागि परेको गिरीको भनाई छ । रिलीज हुन बाँकी २ वटा चलचित्रमा समेत गिरीले संगीत दिईसकेका छन् । 

आँधी भयो, नामसारी, जुनीजुनी जस्ता एल्बममा गिरीकै संगीत सुन्न पाईन्छ । गिरीकै शब्द संगीत र स्वरमा जाउँ जाउँ सुवा धनगढी गरौला मनपरी भन्ने गीत पछिल्लो समय बजारमा निकै चर्चा पाइरहेको गीत हो । दुर्गेश थापा र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।

कलिलो उमेरमै कर्मबाट सन्तुष्टी मिलेकोमा गिरी खुसी छन् । प्रगति देख्दा राम्रै गरिस् थप प्रगति गर्नु भन्ने साथीसंगीहरुको पनि कमी छैन् । क्याम्पसको पढाई भन्दा बढी व्यस्तता गिरीको संगीत सिर्जनामा नै हुने गरेको छ । विद्यार्थी हुँ सिक्दैछु, सफल हुने विश्वास लिएको बताउने गिरीले सबैको साथ सहयोगको भने अपेक्षा गरेका छन् ।



सोमबार २९, भदौ २०७७ ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.