असोजबाट कक्षा शिक्षण सुरु गर्न जिल्ला शिक्षा समूह बाजुराको तयारी

नजिक न्युज संवाददाता    

असोजबाट कक्षा शिक्षण सुरु गर्न जिल्ला शिक्षा समूह बाजुराको तयारी

बाजुरा : जिल्ला स्तरीय शिक्षा समूहले वैकल्पिक कक्षा शिक्षण सञ्चालन गर्ने तयारी थालेको छ । सबै स्थानीय तहका बस्तीमा रेडियोको पहुँच पुग्न नसकेको र टोली शिक्षा पनि प्रभावकारी नभएपछि वैकल्पिक कक्षा शिक्षण प्रणालीबाट पठन पाठनका लागि तयारी थालिएको हो ।

शिक्षा क्षेत्रसँग सरोकारराख्ने निकाय, शिक्षक संघ, संघगठन र युनियनका नेता शिक्षक सहीतको जिल्ला स्तरीय बैठकबाट असोज पहिलो साताबाट कक्षा सञ्चालन गर्ने गरी आवश्यक परामर्श र तयारी थाल्ने सहमति गरिएको छ । 

सम्बन्धीत स्थानीय तहको व्यवस्थापनको अवस्था र राज्यले दिएको मापदण्ड पुरा गर्ने अवस्था आए विद्यालय स्तरमा कक्षा सञ्चालन गर्ने गरी छलफल गरिएको जिल्ला शिक्षा विकास समन्वय इकाइ प्रमुख गोपालदत्त जोशीले बताएका छन् ।

नौ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको उपस्थितिमा बसेको बैठकले टोल शिक्षण सिकाइ प्रभावकारी नभएको भन्ने छलफलका आधारमा विद्यार्थी शिक्षण सिकाई निर्देशिका ०७७ बमोजिम नेपाल सरकारद्धारा गठित समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह तथा स्थानीय प्रशासनद्धारा जारी मापदण्ड पालन गर्ने गरी आफ्नो क्षेत्रभित्र अवस्था हेरी प्रत्यक्ष शिक्षण सिकाइ गर्ने व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । 

दुर्गम क्षेत्रमा कक्षा शिक्षण बाहेक विल्कप नदेखिएकोले पनि अवस्था अनुसार व्यवस्थापन सहीत तयारी थाल्ने बारे निर्णय गरिएको छ । सेभ द चिल्डे«न, गुड नेवर्स इन्टरनेशनल र पीसविनको सयुक्त सहकार्य र जिल्ला शिक्षा विकास समन्वय इकाइको संयोजनमा बैठक सञ्चलान गरिएको हो ।

बैठकले विद्यालय कक्षा सञ्चालन गर्ने अवस्था आए विद्यालय पूर्ण सरसफाइ गर्ने, मर्मत संभाव गर्ने, क्वारेन्टाइनमा प्रयोग भएका विद्यालयलाई निर्मुलीकरण गर्ने, शिक्षक विद्यार्थीलाई अनिवार्य मास्कको व्यवस्थापन र भौतिक दुरी सहीतको बसाइ, हात धुने र साबुन पानीको उचित व्यवस्था गर्नु पर्ने मापदण्ड सहीतको निर्णय गरिएको पीसविन कार्यक्रम संयोजक धर्मबहादुर रोकायाले बताएका छन् । 

शैक्षिक सत्रको पाँच महिला बितिसक्दा पनि बडिमालिका नगरपालिका, मालिका मावि, गैर सरकारी संस्था र रेडियो बाजुरा, रेडियो पौरखी, रेडियो बुढीनन्दा र रेडियो बार्जुले सञ्चालन गरेको रेडियो कक्षा बाहेक कुनै गतिविधी नभएको अवस्था देखिएको छ ।

कोरोना संक्रमणको अवस्था हेरी सरकारले जारी गरेका मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न सके राम्रो हुने बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टको सुझाव छ । बैठकका प्रमुख अतिथि समेत रहेका उपप्रमुख विष्टले अनलाइन, अफलाइन, पिन्टेड सामाग्री, टेलिभिजन र रेडियो कुनै माध्यको पहुँच नभएको स्थानका लागि कक्षा सञ्चालन उपयुक्त विकल्प हुने बताएकी छन् ।

शिक्षा समूहले कक्षा सञ्चालन गर्दा पनि विद्यार्थी संख्या, समय र सावधानी तथा सरसफाइको पूर्ण विषयलाई ख्याल गरिनु पर्ने निर्णय गरेको छ । शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीको अध्यक्षतामा सञ्चालन भएको बैठकको सञ्चालन बडिमालिका शिक्षा शाखा प्रमुख रामबहादुर कटुवालले गरेका हुन् ।

बैठकमा शिक्षक महासंघका केन्द्रीय सदस्य कर्ण बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष तुलाबहादुर थापा, शिक्षक संघका केन्द्रीय सदस्य एवं त्रिवेणी नगरपालिकाका शिक्षा शाखा प्रमुख रतन अयडी, शिक्षक महासंघका जिल्ला अध्यक्ष पूर्णबहादुर खाती, संघ संगठनका अध्यक्ष सचिव सहीतका पदाधिकारी लगायत सरोकारवाला निकाय सहभागि रहेका थिए ।

बैठकले बडिमालिका र जिल्ला स्तरमा मात्र शिक्षा समूह गठन भएकोले अन्य स्थानीय तहमा पनि तत्काल गठन गर्न सुझाव दिएको छ । भने सहभागिहरुले रेडियोको पहुँच भएका स्थानमा रेडियो कक्षा पनि सन्तोष जनक रहेको बताएका छन् । 

कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका जिल्ला कार्यक्रम संयोजक खडक बोहराले जिल्लाको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बडिमालिका नगरपालिकाको सभा हलमा भएको हो । 



आइतबार २८, भदौ २०७७ ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.