सेप्टेम्बरका १२ दिन : भारतमा १० लाख बढी संक्रमित, १३ हजार बढीको मृत्यु

नजिक न्युज संवाददाता    

सेप्टेम्बरका १२ दिन : भारतमा १० लाख बढी संक्रमित, १३ हजार बढीको मृत्यु

नयाँ दिल्ली : भारतमा कोभिड १९ को संक्रमितको संख्या बढ्ने रफ्तार कायमै छ। सेप्टेम्बरको सुरुका १२ दिनमा भारतमा १० लाखभन्दा धेरै संक्रमित थपिएका छन्। साथै यही १२ दिनमा मर्ने मानिसहरुको संख्या पनि चर्कै छ। यसबीचमा १३ हजार ८२ जनाले  ज्यान गुमाए। 

शनिवार भारतमा ९५ हजार २ सय ४९ नयाँ केस थपिए। त्यससँगै विगतका १२ दिनमा संक्रमितको संख्या १० लाख ६५ हजार ७ सय ९६ थपियो। सेप्टेम्बरमा भारतमा भएको मृत्युदर पनि विश्वकै सबैभन्दा धेरै हो। यस महिनामा अमेरिका र ब्राजिल दुवैमा १० हजार हाराहारीमा मानिसहरुले ज्यान गुमाए। शनिवार भारतमा १ हजार १ सय १५ जना कोरोना संक्रमितको मृत्यु भयो। एक हजारभन्दा धेरैको मृत्यु भएको यो लगातार छैटौ दिन हो।

शुक्रवार भारतमा झन्डै ९८ हजार नयाँ संक्रमित थपिएका थिए। यो विश्वकै नयाँ रेकर्ड हो।

यता नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा संक्रमित संख्या ३ लाख पार भएको छ। संक्रमितको संख्या ३ लाखभन्दा धेरै हुने राज्यमा उत्तर प्रदेश पाँचौं स्थानमा उक्लेको छ। महाराष्ट्रमा मात्रै शनिवार २२ हजार ८४ नयाँ संक्रमित थपिएका छन् भने ३ सय ९१ जनाले ज्यान गुमाएका छन्।



आइतबार २८, भदौ २०७७ ०९:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.