सभापतिको उम्मेदवारीबाट ब्याक हुन्न, मेयर बन्ने रहर छैन् : शाह

नजिक न्युज संवाददाता    

सभापतिको उम्मेदवारीबाट ब्याक हुन्न, मेयर बन्ने रहर छैन् : शाह

बाजुरा : नेपाली काँग्रेसका युवा नेता चक्रबहादुर शाहले काँग्रेस बाजुराको सभापतिको साझा उम्मेदवारको रुपमा दाबी प्रस्तुत गरेका छन् । जिल्ला तहका शिर्ष नेताहरुसँगको सल्लाह र युवाहरुको समर्थनमा सभापतिमा उम्मेदवारी दिन लागेको शाहको दाबी छ ।

काँग्रेस महाधिवेशन प्रतिनिधी समेत रहेका शाहले पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । कोही नेताहरुलाई साक्षी नराखेर जिल्ला सभापतिको साझा उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका छन् । 

तेस्रो तथा स्वतन्त्र पक्षबाट उम्मेदवारी रहने दाबी गरेका शाहले शसक्त काँग्रेस र जनताको जीवीकासँग जोडिएको काँग्रेस बनाउन उम्मेदवारी दिन लागेको बताएका छन् । रेडियो बाजुराको नियमित कार्यक्रम साझा सरोकारसँग कुरा गर्दै शाहले अहिलेको जस्तो सूस्ताएको र कमजोर काँग्रेसलाई बलियो बनाउने एक मात्र लक्ष्य रहेको बताएका छन् ।

पहिलो पुस्तालाई ससम्मान विदाइ गर्ने, वर्तमान सभापतिले केन्द्रमा आफ्नो पदीय योग्यता पेश गर्ने र नयाँ अनुहारलाई जिल्लाको जिम्मा दिनु पर्ने सुझाव समेत शाहको छ । सहमतिका लागि बाधक नबन्ने र चुनावी मैदानमा पछि नहट्ने रणनीतिमा शाह छन् । 

चुनाव भए दुई जना बीच मात्र हुदैन्, तीन जनाभन्दा बढी हुन्छन्, ती मध्ये एक म पनि हो, सहमति बाहेक उम्मेदवारीबाट ब्याक हुदैन्, शाहले भन्नु भयो । सहमति जस्को नाममा भएपनि आकांक्षीले स्वीकार गर्नु पर्ने हुन्छ, तर चुनाव भए जितकै लागि मैदान उत्रिने मनस्थिति सहीत तयारीमा रहेको बताएका छन् ।

विकल्प सहीतको र बार्गेनिगका लागि आफूले उम्मेदवारी नदिएको शाहले प्रष्ट पारेका छन् । म भए सभापति हुन्छु, नभए काँग्रेस कार्यकर्ता भएर पार्टी संगठन निर्माणमा लाग्छु, सभापतिको उम्मेदवारी दिएर अन्य पदमा दाबी नगर्ने बताएका छन् । 

बुढीगंगा नगरपालिकाको नगर प्रमुखमा मेरो उम्मेदवारी रहँदैन्, मेरो प्रष्ट राजनीतिक लाइन छ, सभापति र प्रदेश निर्वाचन क्षेत्र ख को संसदीय निर्वाचनमा उम्मेदवारी रहन्छ, पार्टीले पत्याए लड्छु नत्र अरुलाई सघाउँछु, शाहले थप्नु भयो ।

नगर प्रमुख हुने, पार्टीका अरु पदका बार्गेनिग गर्ने मनस्थिति मेरो छैन्, कार्यकारी जिम्मेवारी लिएर काम देखाउने सोचमा आफू रहेको शाहको भनाई छ । युवा साथीहरुको सिंगो स्वतन्त्र टिम असोज ५ गते पछि घोषणा गर्ने तयारी गरेको र त्यो टिम सेट भइसकेको समेत शाहले खुलाएका छन् ।

वर्तमान सभापतिले पार्टी हिँडाए पनि दगुडाउन नसकेको आरोप शाहको छ । काँग्रेस प्रति युवा आकर्षण घट्दो छ, नेताहरु कुर्सी छोड्न मानेकै छैनन्, यस्तो अवस्थामा जिल्ला तहबाट मेरो उम्मेदवारी हो, यसमा जनक गिरी, बद्री पाण्डे, देवराज जोशी सबैले साथ दिने विश्वास व्यक्त गरेका छन् ।

शाहले जिल्ला कम बसेको भन्ने कुरामा सत्यता भएपनि जिम्मेवारी नभएकोले त्यो लाग्नु कार्यकर्तालाई स्वभाविक भएको बताएका छन् । पदका लागि मात्र पर्यटक नेता बन्दा आलोचना हुने कुरा स्वीकार गरेका शाहले आफूसँग प्रष्ट भिजन रहेको दाबी गरेका छन् । पैसाले दीर्घकालिन राजनीति नहुने कुरामा आफू प्रष्ट रहेको पनि शाहको भनाई छ । 

देवराज जोशीको उम्मेदवार हो भन्दा व्यक्तिको मात्र नभएको बताएका शाहले देउवा पक्षले जिल्ला तहमा भरपर्दो नेतृत्व खोजिरहेको बेला आफू त्यसका लागि सक्षम र योग्य रहेको स्वीकार गरेका छन् । उसोत शाहले सुदूर पश्चिम प्रदेशकै सफल निर्माण व्यवसायीको परिचय बनाएका छन् ।

काँग्रेस निकट निर्माण व्यवसायी संघको जिल्ला, प्रदेश र केन्द्र तहसम्मको नेतृत्व तहसम्मको अनुभव छ । २०४६ साल देखि नै नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका शाहले ५० को दशक पछि सरकारी सेवाको स्वास्थ्य क्षेत्रमा जागिर गरेका थिए । त्यो समय पनि आफूले स्वास्थ्य कर्मीहरुको संगठनको नेतृत्व लिएर काम गरेको र काँग्रेसको संगठन निर्माणमा सहयोग गरेको शाहको दाबी छ ।



शुक्रबार ०१, असोज २०७८ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.