बाजुरा : बुढीगंगा नगरपालिकाका कर्मचारीले सुरक्षाको माग गर्दै सामुहीक आन्दोलन सुरु गरेका छन् । जनताको पक्षमा काम गर्दा र राज्यको सम्पत्ती दुरुपयोग गर्नबाट रोक्न खोज्दा उल्टै ज्यान मार्ने धम्की र मुद्दा खेप्नु पर्ने अवस्था आउने हो, भने सम्पूर्ण कामकाज बन्द गरि आन्दोलनमा उत्रिने कर्मचारीले चेतावनी दिएका छन् ।
सयुक्त हस्ताक्षर सहीतको विज्ञप्ती प्रकाशित गरि कर्मचारीले जीउ ज्यानको सुरक्षा र अराजक व्यक्तिमाथि कारवाही नगरिएसम्म कुनै प्रकारको सेवा प्रवाहका काममा सहभागि नहुने र जिल्ला प्रशासन कार्यालयमा सामुहीक धर्ना दिने घोषणा गरेका हुन् । बुढीगंगाले आज आफ्नो वर्षगाँठ मनाउने कार्यक्रम छ । कर्मचारीले उक्त कार्यक्रम पनि बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
असार २१ गते बेलुका बुढीगंगा नगरपालिका ७ सिमलकोटका दिलिप केसीले कार्यालय प्रमुख र इन्जिनियरलाई कार्यकक्ष भित्र हातपात गरेको, गाली बेइज्जती गरेको र निकटका मान्छेबाट ज्यान मार्ने सम्मको धम्की आएकोले त्यसको छानवीन, दोषि माथि कारवाही र कर्मचारीको ज्यान सुरक्षाको ग्यारेन्टी नगरिसम्म कुनै कामकाजमा सहभागि नहुने अडान कर्मचारीले लिएका छन् ।
लामो समय देखि धम्कीकै भरमा काम नगरि योजनाको रकम भुक्तानीका लागि दबाब दिने, वडा कार्यालयमा कर्मचारी बस्ने वातावरण नगर्ने, थर्काएर, कुटपीट र ज्यान मार्ने धम्की दिएर कर्मचारीलाई मानसिक तनाव दिने दिलिप केसीलाई कारवाहीको साँटो उजुरी दिए ज्यान लिन सक्छौं, तिमीहरुले नै उल्टो कुटपीट गरेको हो, भनेर थप तनाव सहनु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने कर्मचारीले माग गरेका छन् ।
कर्मचारीलाई कार्यकक्ष भित्र हातपात गर्ने केसी बुढीगंगा नगरपालिका ७ का वडा अध्यक्ष भुवनसिंह केसीका छोरा हुन् । केसीलाई पालिकाका कर्मचारीले जारी गरेको विज्ञप्तीमा असार २१ गते बाहेक ७ वटा घटनामा प्रत्यक्ष संलग्न भएको देखाइएको छ ।
श्रृखलावद्ध घटनामा संलग्न व्यक्तिले सुरुमा हातपात गरि पछि आफू सत्य सावीत हुन आक्रोशित कर्मचारीको बेइज्जती गराउने नियतका साथ रेकर्ड गरिएको सामाग्रीको पछि लागेर धारणा बनाउने र कर्मचारीलाई नै दोषि सावीत गर्ने जसरी मुद्दा प्रक्रिया अघि बढाउने कार्य नरोकिए सम्पूर्ण क्षति र जिम्मेवारी उजुरी दिने र लिने पक्षले नै लिनु पर्ने कर्मचारीको अडान छ ।
कर्मचारीले जारी गरेको विज्ञप्तीमा यस अघिका नगरप्रमुख दिपक विक्रम शाहलाई कार्यकक्षमै हातपात र गाली बेइज्जती गरेको, २०७७ सालमा पालिका भित्रै तत्कालिन इन्जिनियर पारख खातीलाई निजका काकाले हातपात गरेको, ७ नम्बर वडाका सचिव अनुप चौधरीलाई वडा कार्यालयमै कुटपीट गरेको, हाल कुनैपनि कर्मचारी वडामा जान नमान्ने गरेको कर्मचारीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
२०७९ साल मंसिर २९ गते योजनाकै विषयलाई लिएर पालिका कर्मचारी बसन्त थापालाई गाली गलौज र हातपात गर्न खोजेको, स्थानीय सरकार गठन पछि सधैजसो सोझा साझा जनतालाई समितिमा राख्ने र आफू अनुकुल निर्णय गर्न बाध्य पार्ने, उपभोक्ता समितिको खाताको रकम झिकेर आफ्नो खातामा राख्ने गरेको प्रमाण बैक स्टेटमेन्टबाट लिन समेच कर्मचारीले माग गरेका छन् ।
योजनाकै विषयलाई लिएर रातीको समयमा धम्की दिने, थर्काउने र जति कामभएपनि पास नगरेर राम्रो नहुने धम्की दिने गरेको प्रमाण नेपाल टेलिकमबाट लिन अनुरोध सहीत यतिसम्मको तनाव र अराजकता सहेर काम गर्न नसकिने अडानका साथ कर्मचारीले सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।
असार २१ गतेपनि सडक मर्मतको चौरा देखि सिमलकोट हुँदै, बड्ड्लीसम्मको सडक काम नभएकोले शिर्षक बदलेर भुक्तानी दिन दबाब सहीत केसी पालिका पुगेको र काम नभएको भुक्तानी गर्न सकिदैन भनेपछि हातपात गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथलाई हातपात गर्दा टेबल, गिलास र ल्यापटपमा समेत क्षति पुगेको छ । इन्जिनियर उपेन्द्र साउँदलाई पनि सोही दिन सुरुमा हातपात गरिएको छ । ज्यान मार्ने धम्की दिने र कार्यालय भित्रै आएर कार्यालय प्रमुख र इन्जिनियरलाई हातपात गर्ने दिलिप केसी माथि कारवाही नभएसम्म र कर्मचारीको ज्यान सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्किने विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले केही व्यक्तिको गलत स्वार्थका कारण सिंगो पालिकालाई नै विवादीत पार्ने र कर्मचारीलाई काम गर्ने वातावरण नदिने कार्य सह्य नहुने भएकोले घटनाको प्रकृति हेरेर कानुनी बाटो रोज्ने बताएका छन् । प्रमुख बाँनीयाले कर्मचारीको सुरक्षा र जनताको कामका लागि आफू प्रतिवद्ध रहेको र अराजकता सहेर बस्न नसकिने बताएका छन् ।
उसोत दिलीप केसी पक्षधरहरुले आफू सेवा लिन कार्यालय पुगेको बेला सबै कर्मचारी आएर उल्टै ज्यान मार्ने धम्की र गालीगलौज गरेको दाबी गरेको छ । आफूलाई कोठामा बन्धक बनाएर कुटपीट समेत गरेको आरोप केसी पक्षको छ । उनीहरुले आफूहरु माथि लगाइएको सबै कुराहरु आरोप मात्रै भएको बताएका छन् ।
यही विषयमा लिएर जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षले उजुरी दिएका छन् । घटनाको प्रकृति हेरेर दुबैपक्षको उजुरी दर्ता गरिएको प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले बताएका छन् । प्रहरीले आवश्यक छानवीन गरिररहेको छ, स्थलगत मुचुल्का र अन्य घटना विवरण संकलन भइरहेको कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक बोहराको भनाई छ ।
प्रतिकृया दिनुहोस