बाजुरा : बाजुरामा रुपान्तरण सम्बनधी साथी शिक्षकहरुका लागि १२ दिने तालिम सञ्चालन गरिएको छ । पीसविन, युएनएफपिए र भिएसओको संयुक्त सहकार्यमा तालिम सञ्चालन गरिएको छ । फागुन २४ गतेबाट सुरु भएको तालिम चैत्र ५ गतेसम्म चल्ने छ ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत तालिम सञ्चालन गरिएको परियोजनाका जिल्ला संयोजक त्रिभुवन शाहले बताएका छन् । समाजिक रुपान्तरण तथा परिवर्तनका सवालमा पैरवी गर्ने साथी शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको हो ।
पीसविन कोषाध्यक्ष पार्वती जोशीको अध्यक्षतामा सञ्चालन भएको तालिमको उद्घाटन बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले गरेका हुन् । तालिममा अछाम र बाजुराका १९ जना साथी शिक्षक सहभागि छन् ।
किशोरकिशोरी अवस्थामा सिकाई आदान प्रदान, आईपरेका चुनौतीहरू र समस्याका उपाय, सफलताका कथाहरू सङ्कलन, खर्च र बचत गर्ने बानी, नागरिक सहभागिता लैङ्गिकतामा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य आदिका बारेमा जानकारी गराइने भएको छ ।
साथी शिक्षकहरुलाई यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता र महिनावारी चक्र, महिलावारी अवस्थाको सरसफाइ र व्यवस्थापन बारे पनि जानकारी गराइने भएको छ । यस्तै हिंसा र हिंसाका प्रकार, राम्रो र नराम्रो व्यवाहार, साइबर क्राइम, बाल विवाह, यौनजन्य हिंसा सम्बन्धी बनेका ऐन कानुन बारे पनि तालिममा जानकारी गराइने सहजकर्ता क्षितिज सिंहले बताएका छन् ।
१२ दिने तालिमको सहजिकरण त्रिभुवन शाह, कुसुम शाही र क्षितीज सिंहले गरिरहेका छन् । तालिमले साथी शिक्षकको क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् । ध्यान दिएर अरुलाई सिकाउने क्षमता विकास गरे जान पनि विकले सहभागिलाई सुझाव दिएका छन् । तालिम होटल हिलटप मार्तडीमा सञ्चालन भइरहेको छ ।
प्रतिकृया दिनुहोस