यसपालीको राष्ट्रपति रनिङ सिल्ड पनि बडीमालिकाकै कब्जामा , १३ औं संस्करणसम्म एकछत्र राज

नजिक न्युज संवाददाता    

यसपालीको राष्ट्रपति रनिङ सिल्ड पनि बडीमालिकाकै  कब्जामा , १३ औं संस्करणसम्म एकछत्र राज

बाजुरा : बाजुरा जिल्लाको १३ औं राष्ट्रपति रनिङ सिल्डको उपाधी बडीमालिका नगरपालिकाले हात पारेको छ । रनिङ सिल्ड सुरु गरेदेखि नै बडीमालिका नगरपालिकामा पर्ने मालिका नमुना माविले उपाधी कब्जा गर्दै आएकोमा यो पटक पनि बडीमालिकाले नै उचालेको छ ।

आयोजित खेलहरुमा सबैभन्दा बढी स्वर्ण सहीत शिर्ष स्थान ल्याएर उपाधी हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले बताएका छन् । सिल्डमा स्वामिकात्र्तिक खापर गाउँपालिका बाहेक आठ वटा पालिकाले भाग लिएका थिए ।

भाग लिएका मध्ये बडीमालिका शिर्ष अंक सहीत पहिलो भएको छ । भने त्रिवेणी नगरपालिका दोस्रो स्थान भएको छ । बडीमालिकाले २३ वटा स्वर्ण मात्रै जितेको छ । यस्तै बुढीनन्दा नगरपालिका तेस्रो र खप्तड छेडेदह गाउँपालिका चौथो स्थान ल्याउन सफल भएको छ । खप्तड छेडेदह गाउँपालिकाले गृह मैदान राम्रा प्रदर्शन गर्ने अपेक्षा राखिएको थियो । तर अपेक्षाकृत प्रस्तुती देखाउन नसक्दा चौथो स्थानमा चित्त बुझाएको छ ।

यता पहिलो स्थान ल्याउने प्रयासमा रहेको त्रिवेणीले पनि झिनो अंकका आधारमा दोस्रो स्थानमा चित्त बुझाएको छ । मालिका नमुना विकास र बडीमालिका नगरपालिकाको एकछत्र उपाधी माथिको एकाधिकार तोड्ने प्रयास अन्तिम दिनमा आएर त्रिवेणीले गुमाएको छ । सुरुका दुई दिन शिर्ष स्थानमा रहेपनि अन्तिम दिन दुई फाइनल खेल गुमाएपछि त्रिवेणीको सपना अधुरै रहेको हो । 

बडीमालिका नगरपालिकाले भने आफ्नो इतिहासलाई कायम राखेको छ । सुरुको वर्षदेखि नै रनिङ सिल्डको उपाधी विद्यालय बीच हुँदा मालिका नमुना मावि र पालिका स्तरमा हुँदा बडीमालिका नगरपालिकाले कब्जा गर्दै आएको छ । उपाधीको निरन्तरता दिएको भन्दै नगर प्रमुख अमर खड्काले खेलाडीलाई बधाई दिएका छन् ।  

दशरथ माविको खेल मैदानमा आयोजित सिल्डको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले उद्घाटन गरेका थिए । कार्यक्रममा आठ वटा पालिकाका ९० जना खेलाडीका दरले ७ सय २० जनाले भाग लिएका थिए । 

उद्घाटन समारोहमा प्रदेश सभा सदस्य जुना दानी, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिकाका नगर प्रमुख अमर खड्का, बुढीगंगाका नगर प्रमुख रामबहादुर बाँनीया त्रिवेणीका नगर प्रमुख कर्णबहादुर थापा, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दीलबहादुर रावत, त्रिवेणीका उपप्रमुख कमला जैशी, गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापा लगायत सहभागि थिए ।

खेल भव्य रुपमा समापन भएको खेलकुद विकास समिति अध्यक्ष राकेश थापाले बताएका छन् । सिल्डमा चार वटा विधा अन्र्तगत भलिबल, कबड्डी, एथ्लेष्टीक्स र मार्सल आर्टका खेलहरु सञ्चालन भएका हुन् । जिल्ला खेलकुद समितिले खेलको हरेक वर्ष आयोजना गर्दै आएको छ । 

तर खेल समापन पछि भने बडीमालिकाका खेलाडीले बुढीनन्दाका खेलाडी माथि आक्रमण गरेको बुझीएको छ । खेल समापन समारोहपछि भिजन ऐकेडेमीमा बसीरहेका बुढीनन्दाका खेलाडीलाई खेलाडी बसीरहेको कोठामै पुगेर ढुंगा प्रहार गरेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाले बताएका छन् ।

खेलमा निष्पक्ष नगरेको आरोप सहीत राष्ट्रिय रेफ्री हिमाल खड्का बसीरहेको भन्ने आशंकामा आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । ढुंगा लागेर हिमाल खड्का घाइते भएको बुढीनन्दा नगरपालिकाका खेल शिक्षक एवं राष्ट्रिय खेलाडी गणेश बोहराले बताएका छन् । 

बोहराका अनुसार कोठा भित्र बसीरहेको बेला ढुंगा, लाठी र खुकुरी ल्याएर आक्रमण गर्ने शैलीमा आएको र टाढैबाट आफूहरुमाथि ढुंगा प्रहार गरेको बताएका छन् । ढुंगा प्रहार गर्ने बडीमालिका नगरपालिकाका खेलाडीको पहिचान भइसकेकोले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउने जिल्ला खेलकुद विकास समितिले बताएको छ । 



सोमबार १५, फागुन २०७९ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.